चितवन, १० जेठ/रासस
भरतपुर महानगरपालिका–१२ मा कोठा भाडा गरी बस्ने एक युवतीको चाउचाउ र बिस्कुट अभियान अहिले आएर निश्शुल्क खाना अभियानमा परिणत भएको छ। कोरोना कहरको समयमा काममा जाँदै गरेकी धादिङ जोगिमारा घर भएकी २३ वर्षीया पवित्रा रिजाल अहिले सडकमा रहेका बेसहाराहरूलाई खाना बनाएर खुवाउन तल्लीन छन्।
चौधरी ग्रुपको चाउचाउ डिलरमा काम गर्दै आएकी उनी काममा जाँदै गर्दा सडकमा भोका बसेकालाई निषेधाज्ञाको समयमा चाउचाउ बिस्कुट किनेर खुवाउने गर्थिन्। उनले भनिन्– “आजभन्दा २१ दिन अघि चाउचाउ बिस्कुटबाट शुरू गरेको खाना खुवाउने अभियान अहिले आएर निश्शुल्क खाना सेवा अभियानमा पुगेको छ।” मानिस रोगले भन्दा भोकले मर्ने देखेपछि उनी जागीरबाट राजीनामा दिएर मानव सेवामा लागिन्। जागीरबाट राम्रो कमाइ भए पनि उनले त्योभन्दा भोकालाई खाना खुवाउँदा सन्तुष्टि मिलेको बताइन्।
उनले भनिन्–“शुरूमा चाउचाउ बिस्कुट बाँडें। पछि माधव हमालसँग सल्लाह गरेर खाना बनाएर भोका मान्छे खोज्दै खाना खुवाउन थाल्यौं।” शुरूमा सडक छेउमा खाना बनाएर प्याकिङ गरेर रिक्सामा राखी खान नपाएका मान्छेहरू खोज्दै हिडेको उनले सम्झिन्। रिक्सामा राखेर खाना बाँड्न जाँदा समस्या भएपछि शुरूमा नारायणी नदी किनारमा खाना बनाएर खुवाउन थाले पनि पछि त्यहाँ छाडेर केन्द्रीय बस टर्मिनल हाकिमचोकमा आएर खाना बनाउने र खुवाउने गरेको उनले बताइन्।
खाना बनाएर हाकिमचोकमा ६५ जना र कमलनगर, नगरवन रोड, पुलचोक, लीलाचोक, बेलटाँडी र पोखरा बसपार्कसम्म खाना पु–याउँदै भोकालाई खाना खुवाउने काम गरिएको हमालले बताए। अहिले एक छाकमा १२० जनालाई खाना खुवाउन थालिएको उनले जानकारी दिए। बिहान १० बजे र साँझ ६ः३० बजे बेवारिसेहरूलाई खाना खुवाउने गरिएको छ। खाना बनाउने कार्यमा दैनिक आठ जना बिहान ६ बजेदेखि राति अबेरसम्म खट्छन्।
बेसहारालाई खाना बनाएर खुवाउने गरेको थाहा पाएपछि घरधनीले कोठा छाड्न आग्रह गरेको पवित्राले दुःखेसो पोखिन्। उनले भनिन्–“बेसहारालाई खाना खुवाउन हिंड्न थालेपछि घरबेटीले कोठा छोड्न भन्नुभयो। अहिले कोठा नछाडे पनि दिदीको घर थानिचोकमा बस्दै आएकी छु।” अहिले निश्शुल्क खाना सेवा अभियानमा भरतपुरका विभिन्न सङ्घ–संस्था जोडिएकाले केही सहज भएको उनले बताइन्।
यस अभियानमा अहिले रिकभरी नेपाल वाग्मती प्रदेश, द युनाइटेड चितवन, न्यू वे फाउन्डेशन, युवा समाज भरतपुर, सन्देश फाउन्डेशन, निर्णय नेपाल काठमाडौं र विश्व हिन्दू युवा सङ्घले सहयोग गर्दै आएका छन्। पछिल्लो सात दिनदेखि यी संस्था अभियानमा जोडिएसँगै स्मार्ट टिम चितवनको नाममा सेवा दिंदै आएको अभियानका संयोजक दिवाकरराज श्रेष्ठले जनाकारी दिए। ती संस्था जुटेसँगै कोठा भाडामा लिएर बस्ने र दैनिक ज्याला मजदूरी गर्नेहरूलाई समेत खाद्यान्न वितरण गर्न थालिएको छ।
खाना खान आएकी ४० वर्षीया विष्णुमाया शर्मा अहिले काम नपाएपछि यहाँ आएर खाने गरेको बताउँछिन्। पहिले ईंटा लोड–अनलोड गर्ने काम गर्दै जीविकोपार्जन गर्ने गरेको भए पनि कोरोना कहरका कारण जीवन चलाउन मुश्किल परेको उनको भनाइ छ। अहिले काम नभएपछि भाडा तिर्न नसकेर सडक पेटीमैं बस्दै आएको उनले बताइन्। जनकपुर घर बताउने उनी घर जान पाए घर गएर बस्ने बताउँछिन्।
यस्तै तनहुँ घर भएका विनोद सिञ्जाली मगर अहिले काम नपाएपछि कहिले भोकै त कहिले यहाँ आएर खाना खाने गरेको बताउँछन्। उनले भने– “काम खोज्न जाँदा कोरोना आयो भन्छन्। खानलाई समस्या पर्छ। बिहान बेलुका यहाँ आएर खाना खायो। दिनभरि यसै बस्नुपरेको छ।”