काठमाडौं, १० जेठ/रासस
चालू आर्थिक वर्ष २०७७/७८ को दश महीनाको अवधिमा ३२. १९ प्रतिशतले निर्यातमा वृद्धि भएको छ। यस अघि न्यून मात्रामा निर्यात हुने गरेकोमा पछिल्लो समय आयातसँगै निर्यातमा वृद्धि हुँदा पछिल्लो ११ वर्षको तुलनामा निर्यातमा वृद्धि भएको हो।
विभागले सार्वजनिक गरेको चालू आव २०७७/७८ को पहिलो दश महीनाको (साउदेखि वैशाखसम्म) तथ्याङ्क अनुसार यस अवधिमा रु एक खर्ब आठ अर्ब ४७ करोड बराबरको स्वदेशी वस्तु निर्यात भएको हो। गत वर्षको सोही अवधिमा रु ८२ अर्ब छ करोड ४६ लाख बराबरको वस्तु निर्यात भएको थियो।
सरकारले गत आव २०६६/६७ मा रु एक खर्ब बढी निर्यात गर्ने लक्ष्य राखेको थियो। लक्ष्यको ११ वर्षपछि चालू आवको दश महीनाको अवधिमा उक्त लक्ष्य पूरा भएको हो।
यसैगरी दश महीनाको अवधिमा रु १२ खर्ब ५४ अर्ब ११ करोड बराबरको विदेशी वस्तु आयात भएको छ। गत आवको सोही अवधिको तुलनामा २२.३४ प्रतिशतले आयातमा वृद्धि भएको छ। गत आवमा सोही अवधिमा रु दश खर्ब २५ अर्ब १३ करोड ७७ लाख बराबरको वस्तु तथा सेवा आयात भएको थियो।
तथ्याङ्क अनुसार यस वर्ष व्यापार घाटा २१.४८ प्रतिशतले वृद्धि भएको छ। वैदेशिक व्यापारमा आयातको हिस्सा ९२.४ र निर्यातको हिस्सा ७.९६ प्रतिशत रहेको छ। हिस्सागतरूपमा हेर्दा आयातको हिस्सा मात्र ०.५९ प्रतिशतले घटेको छ।
विभागको तथ्याङ्क अनुसार दश महीनामा रु ११ अर्ब ४५ अर्ब ६३ करोड बराबरको वैदेशिक व्यापार घाटा भएको छ। आयातको तुलनामा निर्यातमा कमी आउँदा व्यापार घाटामा कमी आएको हो। गत वर्षको सोही अवधिमा नेपालले रु नौ खर्ब ४३ अर्ब सात करोड ३० लाख बराबरको वैदेशिक व्यापार घाटा बेहोर्नुपरेको थियो। गत वर्षको तुलनामा यस वर्ष २१.४८ प्रतिशतले व्यापार घाटा भएको हो।