काठमाडौं, १० जेठ /रासस

जेठ १२ गते वैशाख शुक्ल पूर्णिमाका दिनमा लाग्ने चन्द्रग्रहणको छाया नेपालबाट नदेखिने भएकोले यसको सूतक नलाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। नेपाली आकाशमा चन्द्रोदय हुनु अघि नै मोक्ष हुने भएकोले सघन छाया (पृथ्वीको छायाको कालो भाग) देख्न नसकिने समितिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले राससलाई जानकारी दिए। “नदेखिने ग्रहणका विषयमा पात्रो

(पञ्चाङ्ग) मा सूचना दिइँदैन, अल्पग्रास भएर लाग्ने ग्रहण पनि बार्नुपर्दैन, अर्थात् सूतक लाग्दैन भन्ने शास्त्रीय वचन छ”– उनले भने।

 यो छायाजनित ग्रहण भएकोले समितिले प्रकाशन अनुमति दिएका पात्रोमा उल्लेख नभएको हुन सक्ने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ। “पौराणिक ज्योतिष शास्त्रमा यस किसिमको ग्रहणको अस्तित्व स्वीकार गरिएको देखिंदैन”–सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले भने।

  सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ। चन्द्रग्रहण भनेको पृथ्वीको छाया चन्द्रमामा पर्नु हो। यस्तो छाया दुर्ई प्रकारको हुन्छ। सघन तथा विरल। सुनेको सूतक र देखेको ग्रहण मात्र लाग्ने शास्त्रीय मान्यता छ। यसैले जेठ १२ गते ग्रहण बार्नु नपर्ने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ।

 सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्र ग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सूतक लाग्ने धर्मशास्त्रविद् समेत रहेका समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए। सूतक लागेपछि भोजन गर्न नहुने धार्मिक विश्वास छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here