राधेश्याम पटेल, परवानीपुर, ५ जेठ/
नेपालमा कोरोना महामारीको दोस्रो लहरमा सङ्क्रमित बढेपछि नेपालमा अक्सिजन सिलिन्डरको अभाव सृजना भएको छ।

यसै क्रममा नेपालका व्यवसायीले भारतबाट अक्सिजन बुलेट आयात शुरू गरेका छन् ।
काठमाडौंको शङ्कर ग्याँस उद्योग प्रालिले भारतको झारखण्ड प्रान्तको जम्सेदपुरबाट अक्सिजन बुलेट आयात गरिरहेको छ । वीरगंज नाकाबाट एक साताअघिदेखि र भैरहवा र नेपालगंज नाकाबाट पनि अक्सिजन बुलेटको आयात शुरू भएको भन्सार अधिकारीहरूले बताएका छन् ।

वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार रक्सौल-वीरगंज नाका भएर हालसम्म एउटा सानो र चारवटा ठूला बुलेट भित्रेको छ ।

सानोमा ६ हजार घनमिटर र ठूलोमा साढे १० देखि साढे ११ हजार घनमिटर अक्सिजन लोड हुन्छ । सानो बुलेटले ४० लिटरको ५ सयभन्दा बढी सिलिन्डर भर्न सकिन्छ भने ठूलो बुलेटबाट ४० लिटरको १५ सय सिलिन्डर भर्न सकिने व्यवसायीहरूलाई उद्धृत गर्दै उनले बताए । प्रतिघनमिटर भारु १६ रुपैयाँको दरले अक्सिजन खरीद गरी भित्रिरहेको उनले बताए ।

सरकारले हाल नेपालको अवस्थालाई मध्यनजर गर्दै अक्सिजन बुलेट आयातमा शून्य राजस्व नीति लिएको छ । एउटा बुलेट भित्रिंदा प्रवेश शुल्कबापत ५६५ रुपैयाँ मात्र लाग्छ ।

पहिले वीरगंजस्थित आइसिपी नाका भएर दुईवटा अक्सिजन बुलेट नेपाल भित्रेको थियो भने त्यहाँ अरू गाडीको लाइन लाग्ने भएकाले ढिलो नहोस् भनी वीरगंज र रक्सौल भन्सारका अधिकारीहरूले सहमति गरेर वीरगंजको पुरानो भन्सार शङ्कराचार्यद्वारबाट अक्सिजन बुलेटलाई विनाझन्झट आउने बित्तिकै काठमाडौं पठाउने गरेका छन् । एउटा बुलेट जम्सेदपुरबाट काठमाडौं आएर फर्किन करीब ५ दिन लाग्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here