प्रस, सेढवा, ४ जेठ/
कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका कारण पर्सा जिल्लाका ग्रामीण क्षेत्रमा निर्माण सामग्रीको मूल्य बढेको छ ।

वीरगंजबाट ढुवानी बन्द भएको बहानामा स्थानीय विक्रेताले मनोमानी तरीकाले निर्माण सामग्री बिक्री गर्दै आएका छन् । आयुष कन्स्ट्रक्शन बिजबनियाका सञ्चालक विनोद साहले निषेधाज्ञाका कारण बजारमा छड, सिमेन्ट, तार जाली, बालुवा, गिट्टी, बोल्डरको मूल्य वृद्धि भएको बताए ।

उनले निर्माण सामग्रीको मोल बढेसँगै असार मसान्तमा निर्माण सम्पन्न गर्ने गरी सकार भएका ठेक्कापट्टाका काम प्रभावित हुन सक्ने बताएका छन् । अहिले स्थानीय तहबाट विद्यालय भवन, सामुदायिक भवन, सडक ढलान, नाला निर्माण, कम्पाउन्डवाललगायतका निर्माण कार्य ठेक्का, उपभोक्ता समितिमार्फत गराइँदैछ ।

तर बजारमा निर्माण सामग्रीको मोल बढेको कारण सकार गरिएको मोलमा ठेक्का सम्पन्न गर्न समस्या हुने ठेकदार साहले बताए । उनले रु ७५ प्रतिकिलो पर्ने छड अहिले रु ११० सम्ममा बिक्री भइरहेको बताए । यसैगरी, सिमेन्टमा पनि प्रतिबोरा रु ५० देखि ७० बढाइएको बताए ।

जीराभवानी इन्टरप्राइजेजका सञ्चालक बिन्दा साहले कारखाना बन्द भएर छड, सिमेन्टको आपूर्ति बन्द भएका मूल्यवृद्धि भएको बताए । उनले आपूर्ति बन्द भएको कारण सञ्चित सामानको मूल्य बढेको बताए । जीराभवानी गापाका रामाशङ्कर चौधरीले निषेधाज्ञासँगै निर्माण सामग्रीको मोल बढेको कारण आफूले घर ढलानको काम रोक्नुपरेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here