नरेश यादव, पर्सागढी, ४ जेठ/
अहिले माछा मार्ने मुख्य सिजन भएपनि निषेधाज्ञाको कारण माछाको मोलसँगै खपत पनि घटेकाले माछा मार्ने काम प्रभावित भएको छ ।
माझी भागीरथ सहनीले निषेधाज्ञा भएको कारण माछाको खपत कम भएको र मोल पनि घटेकाले माछा मार्ने काम आशाप्रदरूपमा नभइरहेको बताए । उनले चैतदेखि असार महीनाको पहिलो सातासम्म माछा मार्ने काम हुने गरेको बताए ।
उनले असारे वर्षाले पोखरीको डिल भत्कने, पानीको बहाव बढेर माछाहरू भाग्ने भएकाले असारको पहिलो सातासम्म माछा मार्ने काम सकाउने गरेको बताए । उनले अहिले निषेधाज्ञाको कारण माछा मार्ने काम कम भएको बताए । गत वर्ष पनि यही समयमा लकडाउन थियो र अहिले पनि निषेधाज्ञा छ । माछापालकहरूले गत वर्ष घाटा बेहोर्नुपरेका बताए ।
यस वर्ष पनि त्यस्तै सङ्केत मिलेको उनीहरू बताउँछन् । निषेधाज्ञाको कारण अहिले पोखरीमा माछाको मोल रु १८० प्रतिकिलो छ । जबकि सामान्य अवस्थामा पोखरीमा माछाको मोल प्रतिकिलो रु २५० सम्म हुने गर्दथ्यो । जाडोयाममा माछा झनै महँगोमा बिक्री हुने गर्छ ।
पर्सा जिल्लामा ५७१.०८ हेक्टर जलाशय छ र यसमध्ये ४२१.७१ हेक्टरमा माछाखेती गरिन्छ । जिल्लामा ३१४४.३५ मेट्रिक टन खानयोग्य माछा उत्पादन हुने गर्छ ।