प्रस, विन्दवासिनी, ४ जेठ/
प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले कोभिड एक्सन टीमसँग सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।
टीमका अध्यक्ष जिसस पर्साका सभापति नेकमहमद अन्सारीको नेतृत्वमा मङ्गलवार पर्साका प्रजिअ घिमिरेसँगको छलफलमा प्रजिअ घिमिरेले क्याट र स्थानीय प्रशासनको एउटै लक्ष्य कोरोनाविरुद्धको अभियान भएकोले सहकार्य गरी अगाडि बढ्ने आश्वासन दिएका हुन् ।
क्याटका अध्यक्ष अन्सारीले वीरगंजका अस्पतालहरूमा अक्सिजनको अभाव हुन सक्ने सङ्केत गर्दै सोसम्बन्धी व्यवस्थापन सहज बनाउन आग्रह गरेको क्याटका तबरेज अहमदले बताए ।
सो अवसरमा क्याटले आइतवार र सोमवार वीरगंजका अस्पतालमा गरेको अनुगमन र त्यहाँ देखिएका समस्याहरूको बारेमा पनि प्रजिअको ध्यानाकर्षण गराइएको थियो ।
अध्यक्ष अन्सारीले अवसरमा नागरिकको गुनासो समेटेर तयार पारिएको सुझावपत्र पनि प्रजिअलाई बुझाएका थिए ।
छलफलमा क्याटका सदस्यहरू श्याम पटेल, बाबुराम कौशिक, सञ्जीव मिश्र, अमित अग्रवालसमेतको सहभागिता थियो।