अहिले कोरोनाको ताण्डव चरममा छ । सर्वत्र हल्लाको बजार गर्म छ । जसलाई जे मन लाग्छ, महामारीबारे ज्ञान ओकलिदिन्छ । सञ्चार माध्यमहरूले त्रास पस्किरहेका छन् । हाम्रोजस्तो अनधिकृत अन-लाइन र सामाजिक सञ्जालहरूले झन् आफूलाई ॅबिकाउन’ भयावह तथ्याङ्क पेश गरिरहेका छन् । नेपाली जनता आफैं जान्ने-बुझ्ने बन्न माहिर छ । उसको यो जनाइ र बुझाइले कोरोनाजस्तो महामारीले मलजल पाइरहेको छ । विश्वको सबै तथ्याङ्कहरूलाई पछि पार्दै नेपालमा सङ्क्रमितहरूको सङ्ख्या बढिरहेको छ । यसमा सरकारको कार्यहीनता सबैभन्दा दोषी देखिएको छ भने नागरिक स्वयं पनि लापरवाह छ । नपरी नचेत्ने नेपाली बानी हो । अरू परेको, अरूले भोगेको दुःखसँग पनि सरोकार राख्दैन नेपाली जनता । उसलाई आफैं पर्नुपर्छ, आफैंले भोग्नुपर्छ, अनि मात्र चेत्छ । उता सरकार भने बल्ल कुर्सीको खेलबाट मुक्त भएको छ । त्यो पनि कति दिन ? बहुमतको सरकार अल्पमतमा पर्न बेर लागेन, कुर्सी थाम्न सकस पर्यो भने अहिले त अल्पमतकै सरकार हो ।
जाबो अक्सिजनको खाली सिलिन्डर, फलामे ठाँडो, त अरूले नदिएसम्म देशवासीलाई उपलब्ध गराउन नसक्ने सरकारसँग के अपेक्षा राख्नु ? बरु विदेशमा रोजीरोटी कमाउन गएका विपन्न नेपालीहरूले पेट काटेर फलामे भाँडो पठाउँछन्, लाचार र लाछी सरकार खरीद गर्न सक्ने होइन । हो हात पसारेर जोसँग पनि माग्न निर्लज्जताको कुनै पनि सीमा नाघ्न चुक्दैन। देशमा दिन प्रतिदिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै छ । अस्पतालमा भर्ना हुने स्थान छैन । भर्ना नै भएर के गर्ने, अस्पतालमा न चिकित्सक छ, न अक्सिजन । केही मागेर, केही दान-दातव्यमा सिलिन्डर त पाइयो, अब अक्सिजन कहाँबाट ल्याउने ? औषधिको त भगवान् पनि मालिक छैनन् । यस देशमा कोरोना उपचारमा प्रयोग हुने औषधि नै छैन । सरकारले कमिशन नपाएसम्म मगाउँदैन । अनि कालाबजारीको धूम छ । त्यो पनि सबैले पाउँदैन । समस्या विकराल छ। तर के यति मात्रले मानिसको अस्तित्व नै समाप्त हुन्छ त ? कुरा नेपालको मात्र होइन, धेरै मुलुक साधनहीन छन्, तिनका पनि जनता अबुझ र अज्ञानी छन्, त्यहाँ पनि यस्तो गैरजिम्मेवार सरकार होला । के सबै समाप्तप्रायः नै हुन्छ त!
महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका छन्-“नडरा नकरा, पन्छी सुकुमार/ हाँस्छ उषाको दिव्य मुहार, उदयाचलको आँचलमा ।” मानिसमा एउटा अद्भूत गुण हुन्छ । ऊ बर्खोयान्स्क र अलास्काजस्तो बार्है महीना बर्फ खस्ने ठाउँमा बाँच्छ भने अति गर्मी हुने मरुभूमिमा पनि बाँच्छ । मानिसमा गजबको जीवनीशक्ति हुन्छ, विकट अनुकूलन क्ष्ँमता हुन्छ र इच्छाशक्तिले गर्दा कस्तै पनि समस्याको समाधान गर्न सक्ष्ँम हुन्छ । हिजो प्लेग, हैजा, बिफरजस्ता महामारी आए, मानिसको क्ष्ँति त भयो तर यी महामारीहरूलाई पराजित पार्यो । यताका दिनमा कोरोनाका कैयौं प्रजाति-सार्स, इबोलाजस्ता सङ्क्रमण थेग्यो । अब कोभिड-१९ आएको छ । झन् योभन्दा बर्बर युके भेरिएन्ट आएको छ, अझ योभन्दा १६ गुणा बढी मारक तेस्रो संस्करण आउने भविष्यवाणी विश्व स्वास्थ्यविज्ञहरूले गरेका छन् । यी सबैलाई निरुत्तर र प्रभावहीन पार्न सकिन्छ, यदि मानिसले धैर्य र संयम राख्ने हो भने । यसमा खर्च पनि लाग्दैन । हामी कुनै पनि संस्करणको कोरोनालाई पराजित गर्नेछौं, यदि सामान्य स्वास्थ्य मापदण्ड पालना गर्यौं भने ।