प्रस, ठोरी, ३ जेठ/
कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएपछि पर्साको ठोरी गाउँपालिकाले १५ शøयाको अक्सिजनसहितको आइसोलेशन तयार गरेको छ । सङ्क्रमित बढेको अवस्थामा थप पाँच शøया तयार गर्ने गाउँपालिका अध्यक्ष पद्मलाल श्रेष्ठले बताए ।
ठोरी गापाले घ्याङडाँडामा निर्माणाधीन बौद्ध गुम्बालाई अहिले कोभिड सङ्क्रमितको उपचारका लागि आइसोलेशन सेन्टरमा परिणत गरेको हो ।

गापाले कोरोना सङ्क्रमितहरूलाई होम आइसोलेशनमा राख्न सबै वडा कार्यालयमार्फत व्यवस्था मिलाएको छ । होम आइसोलेसनमा रहेका सङ्क्रमितको स्वास्थ्य अवस्थाबारे पालिकाले निरन्तर जानकारी लिइरहेको ठोरी गापाका स्वास्थ्य संयोजक रमेशराज थिङले बताए । सङ्क्रमितको स्वास्थ्यमा गम्भीर समस्या देखिएर अक्सिजन आवश्यक परेको खण्डमा आइसोलेशनमा भर्ना गरी उपचार गरिने अन्यथा होम आइसोलेशनमा बस्न वडाध्यक्षमार्फत सबैलाई जानकारी गराएको अध्यक्ष श्रेष्ठले बताए ।

ठोरी गापामा अहिले आठजना सङ्क्रमित छन् र उनीहरू होम आइसोलेशनमा छन् । सङ्क्रमित सबैको अवस्था सामान्य रहेको र कसैलाई पनि अहिलेसम्म अक्सिजनको आवश्यकता नपरेको स्वास्थ्य संयोजक थिङले बताए । होम आइसोलेट भएकामा समस्या आए गापाको आइसोलेशनमा भर्ना गर्ने र त्यहाँबाट पनि उपचार सम्भव नभए अन्यत्र उपचारको लागि पुर्‍याउन पालिकाले निश्शुल्क एम्बुलेन्सको व्यवस्था मिलाएको संयोजक थिङले बताए ।

घ्याङडाँडा आइसोलेशनमा अक्सिजन सहितको बेड र अक्सिजन कन्सन्ट्रेटर मेशिनको व्यवस्था मिलाइएको गापा अध्यक्ष श्रेष्ठले बताए । सङ्क्रमितलाई निश्शुल्क एम्बुलेन्स सेवा, अक्सिजन र कन्सन्ट्रेटर मेशिनको व्यवस्था र तत्काल सङ्क्रमित पहिचान गर्न एन्टिजेन परीक्षणको व्यवस्था मिलाएको उनले बताए ।

कोभिडको दोस्रो लहर रोकथाम र नियन्त्रणका लागि पालिकास्तरबाट गर्न सकिने सबै प्रयास भइरहेको अध्यक्ष श्रेष्ठले दाबी गरे । त्यसका लागि २० थान सिलिन्डर अक्सिजन र पाँचथान अक्सिजन कन्सन्ट्रेटर मेशिनको व्यवस्था मिलाइएको उनले बताए । अक्सिजन कन्सन्ट्रेटर मेशिनले पानीमा हुने अक्सिजन बिरामीसम्म पुर्‍याउन मदत गर्ने उनको बताए ।

कोभिड सङ्क्रमितका लागि एउटा छुट्टै एम्बुलेन्स सेवा र ननकोभिडका लागि दुईवटा एम्बुलेन्स सञ्चालनमैं रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

यसैगरी निषेधाज्ञाको समयमा देशका विभिन्न स्थानबाट गाउँ फर्किएकाहरूलाई होम क्वारेन्टिनमा राख्न गापाले सबै वडाध्यक्षहरूमार्फत रेखदेख गरिरहेको उनले बताए ।

गापामा छैन मेडिकल अफिसर

कोरोना सङ्क्रमणको पहिलो लहर शुरू हुँदा नै ठोरी गापाले प्रभावकारी उपचार सेवाका लागि स्वास्थ्यतर्फे आठौं तहको मेडिकल अधिकृत र स्टाफ नर्सका लागि विज्ञापन गरेको थियो ।

गत वर्ष कात्तिक महीनामा पहिलोपटक र पुनः मङ्सिरमा दोस्रोपटक करारमा सेवा लिने गरी गरिएको विज्ञापनमा कसैले पनि आवेदन दिएन । एमबिबिएस उत्तीणर् मेडिकल अफिसर एकजना र स्टाफ नर्स दुईजना माग गरेकोमा दुईपटकसम्म कसैले आवेदन नदिएपछि उक्त पद रिक्त नै रहेको स्वास्थ्य संयोजक थिङले बताए ।

गापाले स्वास्थ्य मन्त्रालयलाई समेत मेडिकल अफिसर र स्टाफ नर्स पठाइदिन अनुरोध गर्दै पटकपटक पत्राचार गरेको उनले बताए । तर पनि जनशक्ति व्यवस्थापन हुन नसकेपछि यस वर्ष पुनः सोही पदमा विज्ञापन गरेको र फेरि पनि कसैले आवेदन दिएको छैन ।

मन्त्रालयले तलबभत्ता पठाइसकेको भए पनि जनशक्ति उपलब्ध नहुँदा एचए र अहेबकै भरमा आइसोलेशन सञ्चालन गर्नुपर्ने बाध्यता आइपरेको गापा अध्यक्ष श्रेष्ठले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here