प्रस, वीरगंज, ३ जेठ/
निषेधाज्ञा अवधिमा वैशाख १६ गतेपछि सोमवार आज कलैयामा पहिलोपटक रक्तदान कार्यक्रम भएको छ ।
कलैया सिटी जेसिज र जिनियस डान्स एकेडमीले संयुक्तरूपमा आयोजना गरेको रक्तदान कार्यक्रममा २९ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक धीरेन्द्र झाले बताए ।
शैलेन्द्र मिश्र, विराज गिरी, राजु यादव, रोहन जयसवाल, राज यादव, सतिश साह, अर्जुन गुप्ता, सन्दीप बराई, कञ्चन गुप्तालगायतले रक्तदान गरेको प्राविधिक झाले बताए ।
निषेधाज्ञा र कोरोना सङ्क्रमण समुदायमा फैलिएपछि दुई सातादेखि रक्तदान कार्यक्रम प्रभावित भएको छ । घोषित रक्तदान कार्यक्रमहरू पनि अहिले स्थगित हुँदै आएको केन्द्रका प्राविधिक प्रमुख सौरभराज पाण्डेयले बताए । उनले अहिले रगतको माग घटेको तर सञ्चित रगत सकिएकोले समस्या भइरहेको बताए । अहिले केन्द्रमा य पोजेटिभ समूहबाहेक सबै समूहको रगत अभाव रहेको प्राविधिक प्रमुख पाण्डेयले बताएका छन् ।