प्रस, वीरगंज, ३ जेठ/
वीरगंजका अस्पतालमा सोमवार ८ जनाको मृत्यु भएको छ ।
सोमवार नारायणी अस्पतालमा पाँचजना र भवानीमा २ जना तथा वीरगंज हेल्थकेयर अस्पतालमा एक/एकजनाको मृत्यु भएको बताइएको छ ।

नारायणी अस्पतालका कोरोना संयोजक डा. सरोजरोशन दासले पाँचजना सङ्क्रमितको मृत्यु भएको बताए । उनले बारा जिल्ला निवासी ठेगाना स्पष्ट नखुलेको ४६ वर्षीय पुरुषको सोमवार बिहान पौने दुई बजे निधन भएको बताए ।

मृतक पुरुष वैशाख २० गते अस्पताल भर्ना भएका थिए । बारा गडहल निवासी ५० वर्षिया महिलाको पनि पौने दुई बजे निधन भएको उनले बताए । यसैगरी वीरगंज महानगर-८ गहवा निवासी ५० वर्षीया महिलाको बिहान तीन बजे निधन भएको उनले बताए । महिला वैशाख २३ गतेदेखि अस्पतालमा भर्ना थिइन् । वीरगंज-२२ का ४५ वर्षीय पुरुषको बिहान ६ बजे र वीरगंज-१६ राधेमाई निवासी ५२ वर्षीय पुरुषको बिहान पौने दश बजे निधन भएको संयोजक डा. दासले बताए ।

यसैगरी भवानी अस्पतालमा कालिकामाई गाउँपालिका-२ निवासी ४८ वर्षीय पुरुषको बिहान ७ बजे र सखुवाप्रसौनी गापा-२ ७० वर्षीय पुरुषको दिउँसो सवा ३ बजे मृत्यु भएको हो । यस्तै वीरगंज-१० आदर्शनगर निवासी ६५ वर्षीय पुरुषको वीरगंज हेल्थकेयर अस्पतालमा बिहान पौने १२ बजे निधन भएको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारी विनयकुमार श्रीवास्तवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here