प्रस, वीरगंज, २९ वैशाख
नारायणी अस्पतालमा बेड पाउन छोडेको छ । १२५ बेड क्षमताको कोभिड अस्पताल सञ्चालन गरे तापनि लगभग सबै बेड भरिसकेकोले अब भर्ना हुन चाहने सङ्क्रमितहरूको लागि बेड नपाउने अवस्था छैन, नारायणी अस्पतालका कोभिड फोकल पर्सन डा. सरोजरोशन दासले जानकारी गराए । उनले भने–“बुधवारसम्म ८ जना डिस्चार्ज र १० जना भर्ना भएका छन् । अब नारायणीमा ८० पुरुष र ३७ महिला गरी कुल ११७ जना सङ्क्रमितको उपचार भइरहेको छ।” संक्रमितलाई राखेर उपचार गर्ने ठाउँ र जनशक्ति अभावले उपचारमा जटिलता थपिएको उनले बताए । उनका अनुसार नारायणीको आइसियुमा ५५ पुरुषसहित ७५ जना, एचडियुमा २८ पुरुषसहित ४२ जना र भेन्टिलेटरमा १० जना गरी कुल ११७ जनाको उपचार भइरहेको छ । उनले सङ्क्रमितको मृत्यु भयो वा रेफर भएर अन्यत्रै लगिए मात्र बेड पाउने सम्भावना रहेको बताए। उनले २० बेडको अर्काे कोठामा बिरामी राख्ने भनिए पनि जनशक्ति अभावको कारण उपचार शुरू गर्न नसकिएको बताए।
सात दिनको सिफ्टमा २६ कर्मचारी सङ्क्रमितको उपचारमा
नारायणी अस्पतालमा दक्ष जनशक्तिको कारण उपचारमा समस्या भइरहेको बताइएको छ । अस्पतालका निमित्त मेसु डा. एनामुल हकका अनुसार हाल कोभिड वार्ड सञ्चालनको लागि एक साताका लागि १० जना डाक्टर, १६ जना स्वास्थ्यकर्मी (स्टाफ नर्स, अनमी, अहेब) र चारजना कार्यालय सहयोगी गरी करीब ३० जना कर्मचारीलाई १२–१२ घण्टाको ड्युटी बाँडेर उपचार भइरहेको छ । त्यसैगरी प्रसूति सेवा (शल्यक्रियासहित) डायालासिस, एनआइसियु, सर्जिकल र मेडिकल विभाग छुट्टाछुट्टै सञ्चालनमा छ । यसरी अस्पतालमा करीब ५० जना कर्मचारीको अभाव रहेको अस्पतालले जनाएको छ । अस्पतालले प्रदेश र केन्द्र सरकारसँग कर्मचारी आपूर्ति गर्न माग गरेको छ ।
प्रदेश २ ले दियो पर्सामा ३२ कर्मचारी
प्रदेश २ सरकारले कोरोनाको हटस्पट बनेको पर्साको लागि ३२ जना कर्मचारी पठाएको छ । नारायणी अस्पतालमा कन्सल्टेन्ट एनेस्थेसिया अधिकृत नवौं तहको एकजना, मेडिकल अधिकृत आठौं पाँचजना, स्टाफ नर्स आठ जना, एनेस्थेसिया असिस्टेन्ट एकजना, ल्याब टेक्नोलोजिस्ट एकजना, ल्याब असिस्टेन्ट एकजना र स्वीपर दुईजना गरी १९ जना कर्मचारी दिएको छ भने पोखरिया अस्पतालमा मेडिकल अधिकृत आठौं दुईजना, स्टाफ नर्स छजना, रेडियो ग्राफर एकजना, एनेस्थेसिया टेक्नोलोजिस्ट एकजना, ल्याब असिस्टेन्ट एकजना र स्वीपर दुईजना गरी १३ जना पठाइने प्रदेश सरकारले जनाएको छ ।
कर्मचारी अभाव, कुरूवाको भीडभाड
नारायणी अस्पतालमा कर्मचारी अभाव भएपछि कुरुवाहरूको भीड बढ्न थालेको छ । एउटा सङ्क्रमितको बेड नजीकै दुईजनासम्म कुरुवा बस्ने गरेको हुँदा उपचारमा समस्या भइरहको चिकित्सकहरूले बताएका छन् । “कर्मचारी कम छन्, कुरुवालाई हटाइयो भने समयमा अक्सिजन हेर्ने मान्छे हुँदैन”– नारायणी अस्पतालका निमित्त मेसु डा. एनामुल हकले भने–“तर उनीहरूको भीडले समस्या बल्झिंदै गएको छ, कोही अक्सिजन सिलिन्डरका लागि मारामार गर्छन्, कोही सास चलेन भनेर डाक्टरलाई कराउन र गालीगलौज पनि गर्छन् ।” अस्पतालमा कर्मचारी व्यवस्थापनको लागि तयारी भइरहेको र केही दिनमा कर्मचारी पर्याप्त मात्रामा खटाएर सङ्क्रमितको कुरुवालाई अस्पताल बाहिर गर्ने अस्पताल प्रशासनको तयारी रहेको उनले बताए ।