प्रस, पर्सागढी, २७ वैशाख/
पर्सागढी नगरपालिकामा खाना पकाउने एलपी ग्यासको समस्या भएको छ। नगरपालिका क्षेत्रमा विभिन्न कम्पनीका ६ वटा ग्यास विक्रेता छन्। तर कुनैमा पनि भर्ती सिलिन्डर पाइँदैन। अहिले खाना पकाउने ग्यासको अभावसँगै भर्ती सिलिन्डरका लागि सामान्य मानिसले तीन दिन कुर्नुपरिरहेको छ। यहाँ रहेका विक्रेतालाई नाम टिपाउनुपर्ने अनि तीन दिनपछि ग्यास दिने व्यवस्था मिलाइएको छ। पर्सागढीमा नेपाल, मनोज, सहारा, लियोलगायतका ग्यास कम्पनीका विक्रेता छन्। उनीहरूलाई आवश्यकता अनुसारको ग्यास कम्पनीले उपलब्ध नगराएको कारण समस्या भएको बताउँछन्। स्थानीय शिवानी हार्डवेयरका सञ्चालक रोशन यादवले सातामा ७० वटा भर्ती सिलिन्डर कम्पनीले दिने गरेको तर दैनिक ३५ वटा खपत रहेको कारण समस्या भएको बताए। उनले निषेधाज्ञामा बाहिरबाट गएर ल्याउन नसकिएको कारण नगरपालिकामा रहेका ग्यास विक्रेतामा आश्रित हुनुपरेकोले पनि समस्या बढी देखिएको बताए। यसअघि यस प्रकारको समस्या आउँदा ग्राहकहरू नजीकका अन्य बजारबाट ग्यास ल्याउने गरेको बताए। अहिले निषेधाज्ञामा ग्यास नभएको विषयलाई लिएर झगडा पनि हुने गरेकोले आवश्यकता हुनेको नाम लिस्टमा लेख्ने र ग्यास आएसँगै लिस्ट अनुसार वितरण गर्दै आएको उनले बताए।