सन्तोष पुर्कुटी, ताप्लेजुङ, २७ वैशाख /रासस
दैनिकजसो काँधमा भिर्नी झोला भिरेर गाउँघरमैं व्यस्त भइरहने, जो कसैलाई भेटे मुसुक्क हाँसेर बोल्ने, बोलीमा भएको मिठासले जो कोही मोहित हुन्छन् डाक्टर पुछारे माइलासँग। भिर्नी झोलाभरि विभिन्न जडीबुटीजन्य औषधिले भरिएका बट्टाबट्टी हुन्छन्। तिनै औषधि पानीमा घोलेर गाउँका बिरामीलाई घुटुक्कै पिलाउँछन्।
लामो समयदेखि विभिन्न रोगले थला परेका, अस्पतालले निको पार्न नसकेका बिरामी औषधिको सेवनपछि एकाएक निको हुन्छन्। त्यही भएर होला आजकल गाउँलेहरूले ‘डाक्टर’ भनेर बोलाउँछन्। पहिलेपहिले पुछारे माइला भनेर चिनिने ताप्लेजुड्ढो मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका फुर्साङ शेर्पालाई अहिले ‘डाक्टर पुछारे माइला’ भनेर बोलाउने गरिन्छ।
विसं २०२५ सालमा गाउँको सामान्य परिवारमा जन्मेका शेर्पाले लेखपढ गर्न पाएनन् तर समय परिवेशसँगै अक्षर चिन्ने रहर चल्यो। “बूढेसकालमा राम्ररी अक्षर चिन्न र पढ्न त के हुन्थ्यो, तैपनि नातिनातिनाको सहायताले सही गर्न र मोबाइलका नम्बर चिन्न सक्नेसम्म भएँ, यत्तिकैमा चित्त बुझ्यो”–शेर्पा भन्छन्।
आजकल शरीरका विभिन्न भाग मर्किंदा, नसाको रोगले दुखाइ हुँदा, निमोनिया हुँदा, छारे रोगले थलिंदा, महीनावारी घटबढ हुँदा सबैले शेर्पालाई गुहार्ने गरेका छन्। अस्पतालबाट फिर्ता भएका गाउँका कतिपय बिरामीको सफल उपचारपछि उनलाई घरमा बस्ने तथा आफ्नो काम गर्ने त्यति फुर्सद हुँदैन। बिहान सबेरै उठेर जङ्गलबाट जम्मा गरेका जडीबुटी पिस्ने र प्लास्टिक साथै बट्टाबट्टीमा भर्ने शेर्पाको पहिलो काम हुन्छ। त्यसपछि वस्तु–बाख्रालाई घाँस–पानी दिने काम हुन्छ। घरको समेत काम सकिएपछि भिर्नी झोलामा औषधि बोकेर शेर्पा नजीकदेखि टाढाटाढासम्मका गाउँमा निस्किन्छन्। साँझ परेपछि घर फर्कन्छन्।
उपचार गरेबापत उनले तोकेरै रकम लिने गरेका छैनन्। उपचार भएपछि कतिले दिन्छन्, कतिले दिंदैनन्। “म कसैलाई यतिउति देऊ भन्दिनँ तर हुनेले कम दिन्छन्, नहुनेले अलि धेरै दिन खोज्छन्, त्यो फिर्ता गर्ने गर्छु”–शेर्पा भन्छन्। यसरी जडीबुटी मिलाई सामान्य प्रकारका बिरामीलाई निको पार्ने सीप र ज्ञान अरू कसैले नसिकाएको तर विभिन्न अनुभव र अनुसन्धानबाट पत्ता लगाएको उनको भनाइ छ।
“घरमा कान्छो छोरो जन्मिएको सात महीनादेखि छारे रोगबाट पीडित थियो, धेरै वर्षसम्म विभिन्न उपचार गरें, निको भएन, आफैंले विभिन्न अनुमान लाउँदै जडीबुटी खोज्न थालें, खुवाउन थालें, त्यो औषधिले पछि उसलाई धेरै सुधार आएको थियो तर नौ वर्षको उमेरमैं उसको निधन भयो, समयमैं औषधि चिनेको भए शायद छोरोले साथ छोड्दैनथ्यो होला, अहिले त्यस्तै बिरामीहरूलाई निको पार्ने औषधि मसँग छ, गाउँका धेरै बिरामी निको भए”– उनले भने। नभन्दै गाउँघरका धेरै बिरामी उनकै जडीबुटीको सेवनले निको भएका छन्। “मलाई ग्यास्ट्रिकको समस्या थियो, नासो परेर हो किन हो, खाना रुच्दैनथ्यो, दिनानुदिन शरीरको तौल घट्दै गएको थियो, उहाँको औषधि सेवनपछि पूर्णरूपमा निको भएँ–सान्थाक्राका निमा शेर्पाले भने।
यस्तै मेरिङ्देनका रोदन विकले समेत आफ्नी छोरीलाई जडीबुटीकै प्रयोगबाट बचाएकोमा खुसी व्यक्त गरे। “झन्डै ३६ घण्टासम्म बेहोश भएकी छोरीलाई दुईपटक जडीबुटीजन्य औषधी खुवाएपछि होश खुलेको थियो, फेरि त्यस्तो अवस्था दोहोरिएको छैन”– विकले भने। यसरी जटिल अवस्थामा पुगेका कतिपय बिरामीको औषधि उपचारपछि शेर्पालाई टाढाटाढाबाट समेत उपचारका लागि बोलाउने गरिएको छ।
गाउँघरमा पाइने विभिन्न जडीबुटीले राम्रो काम गर्ने गरेको र थप जडीबुटीको समेत पहिचान हुँदै गएको शेर्पाले बताए। कतिपय जडीबुटीको प्रभाव निकै राम्रो देखिएकाले यसलाई राज्यले समेत खोज–अनुसन्धान गरेर प्रशोधन गर्न सके सबैलाई फाइदा पुग्ने शेर्पाको भनाइ छ।