राधेश्याम पटेल, परवानीपुर, २४ वैशाख/
मुलुकको प्रमुख भन्सार नाका वीरगंज भन्सारबाट पछिल्लो दुई सातादेखि मालसामानको आयातमा कमी आएको छ। नेपाल र भारतमा कोरोना महामारीको कारण आयात–निर्यातमा गिरावट आएको हो। मुख्यगरी इन्धन र सवारीसाधनको आयातमा ठूलो धक्का लागेको भन्सार अधिकारीहरूले बताएका छन्।
वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलका अनुसार पहिले दिनमा साढे ७ सय सवारीसाधन मालसामान लिएर भित्रिन्थे भने अहिले दैनिक ३ सयको हाराहारीमा सवारीसाधन भित्रिरहेका छन्। उनका अनुसार कोरोना महामारीको कारण यातायात बन्द छ, जसले गर्दा डिजेल र पेट्रोलको आयातमा कमी आएको छ। त्यसैगरी, फूडस्टफ जस्तै लेयेज, चकलेट, बिस्कुट, हार्डवेयरका सामान, फलामजन्य सामान, गार्मेन्ट उद्योगका कच्चा पदार्थ, खाद्यान्न उद्योगका कच्चा पदार्थको आयातमा पनि कमी आएको उनले बताए। भन्सार कार्यालयका अनुसार दैनिक रु ७० करोड राजस्व असुली गर्ने लक्ष्य राखेको वीरगंज भन्सारले अहिले दैनिक जम्मा रु ३५ करोड मात्र राजस्व असुली गरिरहेको छ। वैशाखमा रु १९ अर्ब ४४ करोड ५८ लाख ९७ हजारको लक्ष्य पाएको वीरगंज भन्सारले वैशाख २३ गतेसम्म जम्मा रु १२ अर्ब ६६ करोड राजस्व मात्र असुली गर्न सकेको छ। त्यसैगरी, चैतमा वीरगंज भन्सारले रु १५ अर्ब १७ करोड ६७ लाख ५ हजार राजस्व पाएकोमा रु १९ अर्ब ८७ करोड ८८ लाख ४० हजार राजस्व असुली गरेको थियो। चैत मसान्तसम्म चालू आवको ९ महीनामा वीरगंज भन्सारले रु १ खर्ब १६ अर्ब ५० करोड ६५ लाख १३ हजार राजस्व लक्ष्य पाएकोमा रु १ अर्ब २४ अर्ब ७७ करोड ४९ लाख ८० हजार राजस्व असुली गरेको थियो। वीरगंज भन्सारले चालू आवको १२ महीनाको लागि रु १ खर्ब ७० अर्ब ७६ करोड ५१ लाख ४५ हजार राजस्व लक्ष्य पाएको छ।
२० जना कर्मचारी सङ्क्रमित
वीरगंज भन्सार भएर भित्रिने सवारीसाधनलाई विनासतर्कता भिœयाउने गरिएको छ। वीरगंज भन्सारका एकजना अधिकारीका अनुसार पहिलेजस्तै स्वास्थ्य मापदण्ड पालना गरी कार्यालयको काम भौतिकरूपमैं भइरहेको छ। भारतबाट आउने गाडीहरूका चालकको मात्र तापक्रम मापन गरी गाडी जाँचपास गरी छोड्ने गरिएको छ। वीरगंज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले भने– “देशमा बिरामीको त उपचार भइरहेको छैन भने भित्रिने गाडीलाई कसले विसङ्क्रमित गर्ने ?” उनले कार्यालयमा मास्क लगाएर भन्सार एजेन्टहरूले झ्यालबाट कागज दिएपछि जाँचबुझ गरी गाडी चेकजाँच गर्ने गरेको बताए। उनका अनुसार वीरगंज भन्सारका कुल ९० जना कर्मचारीमध्ये २० जना सङ्क्रमित भइसकेका छन्। २० जनामध्ये दुईजना कम्प्युटर अपरेटर गम्भीर अवस्थामा काठमाडौंमा उपचाररत रहेको उनले जानकारी गराए। देश जटिल परिस्थितिमा रहे तापनि वीरगंज भन्सारका कर्मचारीहरूले जोखिम मोलेर काम गरिरहेको उनले बताए।