प्रस, रक्सौल, २१ वैशाख/
बिहारमा मे १५ तारिख (जेठ १) गतेसम्म लकडाउन घोषित गरिएको छ। बिहारका मुख्यमन्त्री नीतीश कुमारले जेठ १ गतेसम्मका लागि लकडाउन घोषणा गर्दै तोकिएको मापदण्ड निर्देशन अनुसार काम गर्न आग्रह गरेका छन्।
कोरोना सङ्क्रमणविरुद्ध जारी मापदण्ड निर्देशन पालना गर्न राज्यका सबैसँग आग्रह गरेका छन्। यो अवधिमा बैंक सेवा, उद्योग, पेट्रोलपम्प, सञ्चार क्षेत्र सञ्चालनको इजाजत दिइएको छ भने सरकारी, गैरसरकारी सबै कार्यालयहरू बन्द गर्न निर्देशन गरिएको छ।
दैनिक उपभोग्य वस्तुको बिक्री वितरण बिहान ७ देखि ११ बजेसम्म गर्न निर्देशन गरिएको छ। सबैखाले सवारी साधन विनाइजाजत चलाउन नपाउनेगरी बन्द गरिएको छ। शैक्षिक संस्था, होटल, रेस्टुरेन्ट, धार्मिक स्थल, सिनेमाहल, शपिङ, जिम, क्लब, रङ्गशाला बन्द गरिएको छ भने सार्वजनिक कार्यक्रम गर्न निषेध गरिएको छ।
वैवाहिक कार्यक्रमको लागि तीन दिन अगाडि प्रहरीसँग अनुमति लिनुपर्ने र ५० जनाको सहभागितामा विवाह कार्यक्रम सम्पन्न गर्नुपर्ने निर्देशन गरिएको छ भने मलामीमा २० जनाभन्दा बढी सामेल हुन निषेध गरिएको छ।