माधव तिमल्सिना, ठोरी, २० वैशाख/

                ठोरी गाउँपालिकामा चालू आवको ९०.५ प्रतिशत विकास बजेट चैत मसान्तसम्म काम सम्पन्न भई सोको भुक्तानी पनि भइसकेको छ।

                यसअघि असार महीनामा विकास निर्माणका कामहरू हुने र मसान्तको अन्तिममा भुक्तानी हुँदै आएकामा यसपटक भने चैत मसान्तमैं उपभोक्ता समितिमार्फतका कामहरू सम्पन्न भएका हुन्।

                गत वर्ष वैशाखमा विकास निर्माणका काम शुरू भएको र असारसम्म भ्याइनभ्याइ हुने गरेको थियो। यसपटक गापाले चैत मसान्तसम्म सम्पन्न हुनेगरी उपभोक्ता र ठेकेदारसँग सम्झौता गरेको कारण कार्य सम्पन्न भएर भुक्तानीसमेत भइसकेको छ। गत वर्ष कोरोनाको कारण लकडाउन भएको र यस वर्ष पनि लकडाउन हुन सक्ने भन्दै गापा अध्यक्ष पद्मलाल श्रेष्ठले चैत मसान्तमैं विकास निर्माणका काम सम्पन्न हुने गरी सम्झौता गरेको र सम्झौता भएका काम सम्पन्न भई भुक्तानी भएको बताए।

                त्यसैले यस वर्ष गापाको कार्यालय घ्याङ्गडाँडामा विकास निर्माणको काम गरेर भुक्तानी लिनेहरूको भीड रहेन। गत वर्ष लकडाउनको समयमा गापाको कार्यालयमा भुक्तानी लिनेहरूको घुइँचो हुने गरेको थियो। प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले समयमा काम सम्पन्न गर्नेगरी कार्यतालिका बनाएको र सोहीअनुरूप काम भएको बताए। असार मसान्तमा काम सम्पन्न गर्नुपर्ने मानसिकता ठोरी गापाले नराखेको उनको भनाइ थियो।

                उपभोक्ता समिति पनि यस प्रकारको कार्यबाट खुशी भएको छ। प्रत्येक वर्ष असार मसान्तमा भुक्तानी पाउनेगरी विकास निर्माणका काम हतारमा गर्नुपर्ने बाध्यता यसपटक नभएकोमा समितिका सदस्यहरूले खुशी व्यक्त गरे। समयमैं काम भयो र समयमैं भुक्तानी पायौं, उपभोक्ता समितिका एकजना सदस्यले बताए। कोरोनाको कारण आन्तरिक स्रोत कमजोर भएपनि निर्माण कामहरू भने समयमैं सम्पन्न गराएको र सोको भुक्तानी आगामी आवको पहिलो महीनामा गर्नेगरी ठोरी गापाले तयारी गरिरहेको छ।

                प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले आगामी गाउँसभा असार १० गते सम्पन्न गर्ने र साउनको पहिलो सातादेखि नै बजेट खर्च गर्ने अख्तियारी लिनेगरी काम भइरहेको जानकारी गराए।

                चालू आवको दुई महीनामा आगामी वर्षमा गर्नुपर्ने विकास निर्माणका कामहरूको छनोट र लगत स्टिमेट तयार पार्न जनप्रतिनिधिहरूसँग समन्वय गरिने र काम सम्पन्न गर्न कर्मचारीहरू परिचालन गर्ने उनले बताए। ठोरी गापाले चालू आवमा रु १ लाखदेखि २० लाखसम्मको विकास निर्माणका २१० वटा योजना छनोट गरी कार्य सम्पन्न गरिसकेको छ। यसैगरी, चौथो गाउँसभाबाट ५३ वटा स्तरीय योजना वडास्तरमा सम्पन्न गर्ने गरी पारित भएको योजना शाखा अधिकृत अर्जुनकुमार जिसीले बताए। सडक, शिक्षा, कृषि, सिंचाइ, जङ्गली जनावर नियन्त्रण, खानेपानी र कल्भर्ट निर्माणलाई ठोरी गापाले प्राथमिकतामा राखेर चौथो गाउँसभाबाट बजेट विनियोजन गरेको थियो। चौथो गाउँसभाबाट चालू आवमा अनुमानित रु ४६ करोड ८८ लाख २० हजार बजेट पारित गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here