प्रस, वीरगंज, १६ वैशाख/
भारत, बिहारको पूर्वी चम्पारणमा बिहीवारदेखि निषेधाज्ञा जारी गरिएको छ।
कोरोना भाइरसजनित महामारीको दोस्रो लहरले राज्यका अनेकौं जिल्ला नराम्ररी प्रभावित भएको भन्दै पूर्वी चम्पारण, मोतीहारी जिल्लाका दण्डाधिकारी शीर्षत कपिल अशोकले बिहीवारदेखि जेठ १ गतेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरेका हुन्। उनले बिहीवारदेखि सम्पूर्ण पसल, बजार बन्द गर्न निर्देशन दिएका छन्।
निषेधाज्ञा अनुसार बिहीवार बेलुकी ६ बजेको साटो अपराह्न ४ बजेदेखि सम्पूर्ण पसल बन्द गर्नुपर्ने, आवश्यकता अनुसार दिन बिराएर भीडभाड नगरी पसल तथा व्यवसाय खोल्न स्थानीय अनुमण्डलहरूलाई निर्देश गरिएको छ। त्यस्तै, साँझ ६ देखि बिहान ६ बजेसम्म कप्mर्यू, विवाह समारोहमा ५० जना र अन्तिम संस्कारमा २० जना मात्र सहभागी हुनुपर्ने, विवाह समारोहको लागि राति कप्mर्यू १० बजेदेखि रहने, डिजेको प्रयोग गर्न नपाइने उल्लेख छ।
यस अवधिमा सबै सरकारी एवं गैरसरकारी कार्यालय २५ प्रतिशत उपस्थितिको साथ कार्य गर्नुपर्ने, सरकारी तथा गैरसरकारी कार्यालय अपराह्न ४ बजेपछि बन्द गर्नुपर्ने भनिएको छ।
त्यस्तै, सार्वजनिक परिवहन (५० प्रतिशत सिट), औद्योगिक प्रतिष्ठान, निर्माण कार्य, ई–कमर्स गतिविधि, स्वास्थ्य क्षेत्र–प्रतिष्ठान, ठेलामा फल तथा तरकारी घुमेर बेच्न पाइने तथा कृषिजन्य गतिविधिलाई प्रतिबन्ध लगाइएको छैन। होटल तथा रेस्टुरेन्टहरू राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने निषेधाज्ञा आदेशमा उल्लेख छ।