प्रस, वीरगंज, १६ वैशाख/
जिल्ला प्रशासन कार्यालय, पर्साले बिहीवारदेखि पर्सा जिल्लामा निषेधाज्ञा आदेश जारी गरेकोमा वीरगंज महानगरबाहेकका पालिकाहरूमा यसको असर सामान्य रह्यो।
वीरगंज महानगरमा निषेधाज्ञामा तोकिएका मापदण्ड अनुसारका गतिविधिबाहेक अन्य नियन्त्रणमा बिहानदेखि सुरक्षाकर्मी तैनाथ थिए। उनीहरूले पसलहरू सञ्चालनमा रोक लगाए। स्वीकृतिविना सञ्चालनमा रहेका सवारीसाधनहरू नियन्त्रणमा लिए। मानिसहरूलाई विनाकारण बाहिर घुमफिरमा रोक लगाएका थिए।
अलखियामठ, आदर्शनगर, माईस्थान, घण्टाघर, मुर्लीचोक, पावरहाउसचोक, मेनरोडका यी ठाउँहरूलगायत अन्य चोकहरूमा पनि प्रहरी निगरानी बढाइएको थियो। वीरगंज महानगरमा निषेधाज्ञा प्रभावकारी देखिए पनि महानगरबाहेक १३ वटा पालिकामा निषेधाज्ञा आदेश खासै प्रभावकारी नभएको पाइएको छ।
पर्सागढी, पोखरिया, बहुदरमाई नगरपालिकामा रहेका पसलहरू छिटपुटरूपमा खुलेका थिए भने १० वटा गाउँपालिकामा पसलहरू सञ्चालनमा रहेका हाम्रा संवाददाताले बताएका छन्।
प्रस, बिरुवागुठी/
पर्सागढी नगरपालिकाको ग्रामीण भेगमा रहेका मुख्य बजार बडनिहार, मनवा, रङ्गपुर, श्रीपुर पंचगावाँ, हरपुर, बहुअर्वा, डोकैलाचोकलगायत स्थानका बजारहरू खुलेका छन्।
ग्रामीण भेगका मुख्य बजार तथा पसलहरू बिहानैदेखि खुलेका थिए भने सार्वजनिक सवारीसाधनमा स्थानीय यात्रीहरूले निर्धक्क यात्रा गरिरहेका थिए।