प्रस, वीरगंज, १४ वैशाख/
जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले सूचना जारी गर्दै वैशाख १६ गते बिहान ४ देखि २२ गतेसम्म जिल्लामा निषेधाज्ञा घोषणा गरेका छन्।
मङ्गलवार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सिफारिश गरे अनुसार सङ्क्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐनको दफा ६ (३) ले दिएको अधिकार प्रयोग गरी आदेश जारी गरेको प्रजिअ घिमिरेले बताए।
उनले अत्यावश्यक कामबाहेक घरबाट बाहिर निस्कन र हिंड्डुल गर्न निषेध गरिएको र सो कार्य गर्नेलाई प्रचलित कानून अनुसार कारबाई गर्ने बताए। निषेध गरिएको अवधिमा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, सपिङ मल, हाटबजार, मनोरञ्जन स्थल, सैलुन, ब्यूटीपार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्रहालय आदि सञ्चालनमा रोक लगाइएको छ।
विवाह, व्रतबन्ध जस्ता सामाजिक कार्यको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालय, पर्साबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ।
यसैगरी, मालवाहक सवारीसाधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीहरूले प्रयोग गर्ने सवारीसाधन, एम्बुलेन्स, दमकल, शववाहन, फोहोर मैला व्यवस्थापन, खाद्यान्न, फलफूल, पेट्रोलियम पदार्थ, पानी, तरकारी, दूधजन्य पदार्थ, पशुपक्षीको दानालगायत ढुवानीका सवारीसाधनहरू, आइसोलेशन एवं होल्डिङ सेन्टरको व्यवस्थापनमा प्रयोग हुने सवारीसाधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने गरी अनुमतिप्राप्त (पास) सवारीसाधनहरूबाहेक अन्य सबै प्रकारका निजी तथा सार्वजनिक यातायातका सवारीसाधनहरू (दुर्ई पाङ्ग्रेसमेत) सञ्चालनमा रोक लगाइएको छ।
खाद्यवस्तु, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसायबाहेक अन्य सबै पसल, व्यवसाय हाललाई सञ्चालन नगर्ने आदेश भएको छ। खाद्यवस्तुका पसल, व्यवसायहरू बिहान १० बजेसम्म मात्र सञ्चालन गर्नुपर्ने र त्यसो गर्दा जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नुपर्नेछ।
वीरगंजको इनर्वा नाकाबाहेक भारतबाट जिल्ला प्रवेश गर्ने अन्य नाकाबाट सीमा वारपार आवागमन पूर्णरूपमा रोक लगाइएको छ। इनर्वा सीमानाकाबाट नेपाल प्रवेश गर्ने यात्रीहरूले तोकिएको स्वास्थ्य जाँच र प्रक्रिया पु–याइ स्थानीय तहले तोकेको आइसोलेशन सेन्टर वा होम आइसोलेशनमा अनिवार्य बस्नुपर्ने आदेश गरिएको छ।
बैंक तथा वित्तीय संस्थाका कर्मचारी एवं सञ्चारकर्मीहरूले आफ्नो परिचय खुल्ने कागजात साथमा राखी आवतजावत गर्न पाउने व्यवस्था गरिएको छ।
मृत्यु संस्कार, विवाह, व्रतवन्ध जस्ता सामाजिक कार्यमा र विकास निर्माणका आयोजनासँग सम्बन्धित सामग्री एवं जनशक्तिले प्रयोग गर्ने सवारीसाधनहरू जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर मात्र सञ्चालन गर्न पाउने व्यवस्था गरिएको छ।