प्रस, वीरगंज, १४ वैशाख/
नारायणी अस्पतालमा मङ्गलवार एकै दिन तीनजना सङ्क्रमितको मृत्यु भएको छ ।
दुईजना महिला, एकजना पुरुष गरी तीनजनाको दिउँसो पौने १२ बजेभित्र मृत्यु भएको अस्पतालका प्रवक्ता डा सरोजरोशन दासले बताए । मृत्यु हुनेमा जीतपुरसिमरा उपमहानगरपालिका–६ की ४० वर्षीया सङ्क्रमित महिलाको मङ्गलवार बिहान १ः२४ बजे मृत्यु भएको थियो । उनी सङ्क्रमित भएर वैशाख ९ गतेदेखि अस्पतालमा भर्ना थिइन् ।
यसैगरी, वीरगंज–२५ श्रीसियाकी ६५ वर्षीया महिलाको मृत्यु भएको छ । सङ्क्रमित भएर हिजो भर्ना भएकी उनको आज बिहान ३ बजे निधन भएको प्रवक्ता डा दासले बताए । यसैगरी बारा, परवानीपुरका ४५ वर्षीय पुरुषको दिउँसो पौने १२ बजे मृत्यु भएको थियो । उनी वैशाख ५ गतेदेखि नारायणी अस्पतालमा भर्ना थिए ।
यसैगरी, पोखरिया–२ निवासी ७२ वर्षीय पुरुषको साँझ मृत्यु भएको डा दासले बताए । यसैगरी, सोमवार पनि तीनजनाको मृत्यु भएको थियो । दुईजना महिला र एकजना पुरुषको सोमवार मृत्यु भएको बताइएको छ । दुईजनाको नारायणी अस्पतालमा र एकजनाको वयोधा अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय, पर्साका प्रशासकीय अधिकृत विनयकुमार श्रीवास्तवले बताए ।