प्रस, सेढवा, १४ वैशाख/
पर्सा जिल्लाका ग्रामीण क्षेत्रमा सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालनमा आएपछि प्रहरीले बन्द गराएको छ।
सङ्घीय मन्त्रिपरिषद्को निर्णयले देशभरिका सबै विद्यालय बन्द गर्ने आदेश भएपनि पर्सा जिल्लाका विद्यालयहरू छिटपुटरूपमा सञ्चालनमा छन्। वीरगंज महानगरपालिकालगायत केही पालिकाहरूले सरकारको निर्णय आउनुअगावै विद्यालय बन्द गराए पनि धेरै पालिकाले विद्यालय बन्दको सूचना जारी नगरेको कारण केही विद्यालय सञ्चालनमा आएका हुन्।

गापाले भने सरकारले नै सूचना जारी गरेर बन्द गराइसकेको अवस्थामा पालिकाले छुट्टै सूचना जारी गर्नु नपर्ने र सरकारको सूचना अटेर गरी खुल्ने विद्यालयलाई कारबाई गर्ने बताएको छ।

जीराभवानी गापामा रहेका केही संस्थागत विद्यालय सञ्चालनमा आएपछि प्रहरीले बन्द गराएको थियो। परीक्षा भनेर विद्यालय सञ्चालन गरिएको थियो। जबकि यसअघि सरकारले सबैखाले परीक्षा रद्द गर्न पहिलो चरणमा निर्देशन दिएको थियो भने दोस्रो चरणमा सम्पूर्ण विद्यालय बन्द गर्न निर्देशन दिएको थियो। केही विद्यालयले बिहीवारदेखि परीक्षाको तालिका बनाएका छन्। गापाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले विद्यालय बन्द गर्न निर्देशन दिएको र सोविपरीत गर्नेलाई कारबाई गर्ने चेतावनी दिए। उनले गापाले यसविरुद्ध अनुगमन गर्ने र दोषी देखिएका विद्यालयलाई कारबाई गर्ने बताए।

इलाका प्रहरी कार्यालय, सेढवाका प्रहरी नायब निरीक्षक उपेन्द्र चौधरीले मातहतका सबै प्रहरी चौकीलाई विद्यालय बन्द गर्न निर्देशन दिएको जानकारी गराए। उनले अटेर गर्ने विद्यालय सञ्चालकहरूलाई पक्राउ गरिने बताए। जिल्ला प्रहरी कार्यालय पर्साले मातहतका सबै इप्रका, वडा प्रहरी कार्यालय, चौकीहरूलाई विद्यालय सञ्चालनलगायत कोभिड–१९ को सङ्क्रमणबाट जोगिन सुरक्षा तथा स्वास्थ्य मापदण्ड अवलम्बन गर्न–गराउन निर्देशन गरिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here