प्रस, पर्सागढी, ७ बैशाख/
प्रहरी चौकी मिलनचोकका प्रहरी सहायक निरीक्षक जयगोविन्द राउतले माफी मागेका छन् ।
पर्सागढी नगरपालिका–३ झबराहाका नारायणबहादुर श्रेष्ठलाई झूटो मुद्दामा पक्राउ गरी यातना दिएको विरोधमा मङ्गलवार स्थानीयले प्रहरी चौकी बडनिहार घेराउ गरी प्रदर्शन गरेपछि प्रहरी चौकी मिलनचोकका प्रसनि राउतले आएर प्रदर्शनकारीसमक्ष माफी मागेका थिए ।
श्रेष्ठलाई यही वैशाख ४ गते शनिवारका दिन प्रहरी चौकी मिलनचोकले धादिङ जिल्लामा २३ वर्षअगाडि भएको हत्याकाण्डको आरोपी भनेर निजको घरबाट पक्राउ गरेको थियो । उनलाई मिलनचोकबाट इलाका प्रहरी परवानीपुर र त्यहाँबाट जिल्ला प्रहरी कार्यालय पर्सामा लगिएको थियो । जिप्रका पर्साबाट श्रेष्ठलाई धादिङ प्रहरीकहाँ पठाइएको थियो । तर धादिङ प्रहरीले पक्राउ परेका श्रेष्ठ सो अभियोगमा कसूरवार नभएको भनी फिर्ता पठाएपछि आज श्रेष्ठका आफन्तजन, परिवार र टोलवासीले प्रहरी चौकी बडनिहारमा प्रदर्शन गरेका हुन् ।
पक्राउ परेर रिहा भएका श्रेष्ठले आपूmलाई सातजना प्रहरीको समूहले घरबाट पक्राउ गरेको र प्रहरी चौकी मिलनचोक, इप्रका परवानीपुर तथा जिप्रका पर्सामा कुटपिट गरिएको बताएपछि आज प्रहरी चौकी बडनिहारमा स्थानीयले प्रदर्शन गरेका हुन् ।
प्रदर्शनको क्रममा प्रहरी चौकी मिलनचोकका प्रसनि राउत आपैंm उपस्थित भएर कुटपिट गरेकोमा क्षमा माग्दै नारायणी अस्पतालमा उपचार गराए औषधि उपचारको खर्च बेहोर्ने प्रतिबद्धता जाहेर गरेपछि घेराउ कार्यक्रम स्थगित भएको थियो ।