प्रस, ठोरी, ६ वैशाख/
ठोरी गाउँपालिकाको पाँचौं गाउँँसभा सोमवार सम्पन्न भएको छ। घ्याङ डाँडामा सम्पन्न गाउँँसभाले चालू आवमा चौथो गाउँँसभाबाट पारित कार्यान्वयन हुन नसकेका योजनाहरू संशोधन गरेको छ।
गापा अध्यक्ष पदमलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न गाउँसभाले चालू आवमा विनियोजित योजनाहरूको कार्यान्वयनको अवस्थाबारे समीक्षा गरेको छ।
कार्यान्वयन हुन असहज रहेका योजनाहरूलाई संशोधन गरिएको गापा अध्यक्ष श्रेष्ठले जानकारी दिए। गाउँसभाले ठोरीबाट पहिलोपटक सगरमाथा आरोहणको तयारी गरिरहेका सुवर्णपुरका हरेराम खड्कालाई रु २ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको गापा उपाध्यक्ष शान्तिमाया थिङले बताइन्।
उपाध्यक्ष थिङले प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत बेरोजगारीहरूलाई शनिवार काममा लगाउँदा अतिरिक्त ज्याला दिनुपर्ने माग गरिन्। उनले पालिकाभित्र भइरहेका विकास निर्माणको अनुगमन गर्न सबै जनप्रतिनिधिसँग आग्रह गरिन्।
गापा अध्यक्ष श्रेष्ठले ठोरी गापामा भएका विकास निर्माणको समीक्षा गर्दै विद्यालयमा स्वयंसेवक शिक्षक थप, पर्खाल निर्माण, अङ्ग्रेजी पाठ्यपुस्तकको व्यवस्था गरिएको बताए। उनले टोलटोलमा निश्शुल्क ट्युशन कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिए। पालिकाभित्रका सबै शाखा सडक र कृषि सडकको स्तरोन्नति, खानेपानीको व्यवस्था, कृषकमैत्री कार्यक्रम, खानेपानीको व्यवस्था, कल्भर्टको व्यवस्था गरिएको बताए।
गाउँसभामा वडाध्यक्ष, कार्यपालिका सदस्यलगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here