प्रस, परवानीपुर, ६ वैशाख/
प्रदेश २ सरकारले प्रदेशसभा सदस्य कोषबाट खर्च गर्ने रकमबाट बारा र पर्सामा ८० किलोमिटर सडक कालोपत्र गर्ने योजना अघि बढाएको छ।
प्रदेश सरकार मातहत भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत वीरगंजमा रहेको भौतिक पूर्वाधार विकास कार्यालयले पर्साका ८ र बाराका ८ गरी १६ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमा ५ किलोमिटरको दरले ८० किलोमिटर सडक निर्माण गर्ने योजना अघि बढाएको भौतिक विकास कार्यालय वीरगंजका सूचना अधिकारी इन्जिनीयर दीपक मिश्रले जानकारी गराए।
उनका अनुसार बारा र पर्सामा १६ जना प्रत्यक्ष प्रदेशसभा सदस्य र १० जना समानुपातिक प्रदेशसभा सदस्य गरी २६ जना विधायक छन्। जसमध्ये प्रदेश सरकारबाट प्रत्यक्ष प्रदेश विधायकलाई रु ३ करोड बर्सेनि र समानुपातिक प्रदेश सांसदलाई रु १ करोड बजेट प्राप्त हुने गरेको छ। ८० किमी सडक निर्माणको लागि करीब डेढ अर्ब बजेट आवश्यक भएकोमा चालू आवमा ठेक्का लगाउने भएकोले थोरै बजेट भएको उनले बताए। उनका अनुसार चालू आव २०७७/०७८ मा १६ वटा प्याकेजमा बारा र पर्सामा ठेक्का सम्झौता गरी कुल १२ किमी सडक निर्माणको ठेक्का पूरा गर्ने लक्ष्य राखिएको उनले बताए।
सो ठेक्काको लागि १६ जना ठेकेदारले १२ देखि ५३ प्रतिशत कममा ठेक्का सकार गरी दुई/तीनवटा काम सम्पन्न गरिसकेको र १३ वटा काम भइरहेको बताए। आगामी आवमा मन्त्रालयबाट थप बजेट आएपछि थप सडक कालोपत्र गर्ने, ठेक्का गर्दै जाने र काम पूरा गर्दै जाने मन्त्रालयको योजना रहेको उनले बताए।
प्रत्येक निर्वाचन क्षेत्रमा प्रदेशसभाका प्रदेश सांसदले सडकको लागि योजना छनोट गरी मुख्यमन्त्री कार्यालयमा पठाएपछि प्रदेशको पिएलआइएमबिएसमा उक्त योजना समावेश गरिन्छ। त्यसपछि काम शुरू हुन्छ। मुख्य सडकमा ६ इन्च मोटो कालोपत्र गर्ने र गल्ली तथा साँघुरो ठाउँमा सोभन्दा थोरै कम कालोपत्र गर्ने सरकारको योजना छ।
त्यसैगरी, प्रदेश सरकारका अन्य केही बजेट प्रदेश सांसदले सडक, ढलान, धारा, नाला, मस्जिद, मदर्सा, विद्यालयलगायत निर्माण कार्य भइरहेको उनले जानकारी गराए।