नितेश कर्ण, वीरगंज, ३ वैशाख/
कोरोनाको कारण २०७७ चैत ११ गतेदेखि बन्द रहेका वीरगंजका सिनेमाहलहरू तीन महीना अगाडि खुले पनि अहिले पुनः धमाधम बन्द हुँदैछन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाको कारण भीड नगर्न र सिनेमाहललगायतका स्थानहरू बेलुकी ७ बजेपछि बन्द गर्न वैशाख २ गते सूचना जारी गरे पनि त्यसअघि नै दर्शकको अभावमा वीरगंजका सिनेमाहलहरू प्रभावित भएका हुन्। वीरगंजमा चारवटा सिनेमाहल छन् र त्यसमध्ये दुईवटा एक महीनाअगाडिदेखि बन्द छन् भने दुईटा सञ्चालनमा रहे पनि दर्शक सङ्ख्या न्यून छ। वीरगंज–११ श्रीपुरस्थित त्रिमूर्ति सिनेमाहल कोरोनापछि तीन महीनाअघि सञ्चालनमा आए पनि दर्शक नआइदिंदा एक महीनाअगाडिदेखि बन्द छ। नेपाली, हिन्दी, भोजपुरी भाषाका चलचित्र प्रदर्शन हुने सिनेमाहलमा तीनैवटै भाषाका चलचित्र गत एक वर्षदेखि रिलिज नभएको र पुरानो चलचित्र हेर्न दर्शकहरू नआउँदा सिनेमाहल बन्द गर्नुपरेको हो।
वीरगंज–१२ मा रहेको ए–म्याक्स सिनेमाहलका सञ्चालक अनिल सर्राफले दुई साताअगाडिदेखि हलमा दर्शक नआउँदा चलचित्र प्रदर्शन नभएको बताए। उनले कोरोनाको सङ्क्रमण बढेसँगै सिनेमाहल बन्द भएको ९ महीनापछि खुलेको तर दर्शक नआउँदा चलचित्र प्रदर्शनमा समस्या आएको बताए।
उनले कोरोनापछि खुलेका सिनेमाहलमा दुई प्रतिशत पनि दर्शक नआउने गरेको कारण दुई साताअगाडि बन्द गर्नुपरेको बताए। अहिले वीरगंजका श्रीराम पिक्चर प्यालेस र बजरङ्ग टाकिज मात्र सञ्चालनमा छन् तर त्यहाँ दर्शक सङ्ख्या १०–२० जनाभन्दा बढी हुँदैन। जेनतेन सञ्चालनमा आएका ती दुई सिनेमाहल कुन दिन बन्द हुने हो ठेगान छैन।
कोरोनाअगाडि पनि सिनेमाहलको व्यापार सुस्त भएको थियो। नयाँ प्रदर्शित हुने सिनेमा हेर्न दर्शकहरूको एक/दुई दिन भीड हुने तथा त्यसपछि हल खाली हुने गरेको सञ्चालकहरू बताउँछन्। घर–घरमा टिभी, हात–हातमा मोबाइल र इन्टरनेटबाट नयाँ चलचित्रहरू हेर्ने बानी बसाएका दर्शकहरू सिनेमाहलमा धाउन छाडेका थिए। त्यसमा कोरोनाले सिनेमाहललाई थप प्रभावित पारेको हो।