प्रस, सेढवा, २ वैशाख/
जीराभवानी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू भएको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गाउँपालिकाले एक सयजनालाई दैनिक ज्यालादारीमा नियुक्ति दिएको छ। यो जनशक्तिलाई गापामा रहेका बाटोघाटो मर्मतका लागि खटाइएको छ। उनीहरूलाई एक सय दिनसम्म काममा लगाइ प्रतिदिन रु पाँच सयको दरले बैंकमार्फत भुक्तानी दिइने प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले बताए।
प्रधानमन्त्री रोजगार कार्यक्रम दुर्ई वर्षअगाडि नै शुरू गर्नुपर्नेमा कर्मचारी अभावका कारण कार्यक्रम सञ्चालनमा आउन नसकेर सो शीर्षकको बजेट फ्रिज हुँदै आएको अधिकृत मेहताले बताए। गापाका पाँचवटै वडामा २०/२० जनाका दरले काममा खटाइएको र उनीहरूको कामको निगरानी वडा कार्यालयले गरिरहेको उनले बताए। मजदूरहरूलाई सडकमा भएका खाल्डो माटोले भर्न, झारपात उखेल्न, वृक्षरोपण गर्न, नालाको सरसफाइलगायतका जिम्मेवारी दिइएको छ।
मजदूरहरूका लागि पोशाक, टोपी, साबेल, तगार, कोदालो, खुर्पी, हसियालगायतका औजारहरू उपलब्ध गराइएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम पर्साका अधिकांश स्थानीय तहमा सञ्चालन गरिएको छैन।