सुषमा शर्मा, वीरगंज, ३० चैत/
नारायणी अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा चरम लापरवाही भएको पाइएको छ।
अस्पतालको सबैभन्दा संवेदनशील आकस्मिक कक्ष्Fमा कोरोना सङ्क्रमितलाई राखिएको छ र उनीहरूको उपचारमा लापरवाही भइरहेको कारण अन्यलाई पनि कोरोना सर्न सक्ने सम्भावना प्रबल देखिएको छ। आकस्मिक कक्षमा दैनिक ६० भन्दा बढी रोगी आउने गर्छन्। आकस्मिक कक्षका अन्य रोगी र कोभिडका रोगीहरूको लागि एउटै शौचालय छ। अहिले आकस्मिक कक्षसँग जोडिएको कक्षमा दुईजना कोरोना सङ्क्रमितलाई राखिएको छ। उनीहरूले प्रयोग गर्ने शौचालय नै आकस्मिक कक्षमा आउने बिरामी र उनीहरूको रेखदेखमा आउने मानिसहरूले प्रयोग गर्दैछन्। यसबाट सङ्क्रमण फैलिने सम्भावना बढी छ।
सङ्क्रमितहरू खुलारूपमा आकस्मिक कक्ष क्षेत्रमा घुमफिर गर्ने गरेका छन्। आकस्मिक कक्षका स्वास्थ्यकर्मी जयराम महतो पिपिई लगाएर सङ्क्रमितको उपचार गर्छन् भने पिपिई फुकालेर पुनः आकस्मिक कक्षमा आएका बिरामीहरूको उपचार गर्छन्। जनशक्ति अभावमा दुवैतर्फ उपचार गर्नुपरेको उनको भनाइ छ। यसले गर्दा रोगको सङ्क्रमण फैलिन सक्ने कुरालाई उनी नकार्दैनन्। जयराम भन्छन्– सङ्क्रमण फैलिने सम्भावना धेरै छ तर बाध्यता पनि छ। यस सम्बन्धमा अस्पताल प्रशासनले व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ। एकैजनाले दुवैतर्फ हेरचाह गर्दा सङ्क्रमण फैलिने कुरालाई नकार्न सकिंदैन। यसअघि अस्पतालले पहिलो चरणको कोरोना सङ्क्रमणको बेला सबैखाले उपचार सेवा बन्द गरेर कोरोना सङ्क्रमितको उपचार मात्रै गरेको थियो तर दोस्रो चरणमा दुवै सेवा एकैसाथ गर्दैछ। अहिले अस्पतालमा दुईजना सङ्क्रमित मात्र छन् र अस्पताललाई उनीहरूको व्यवस्थापन गर्नुपर्ने जिम्मेवारी छ। तर थपिने सङ्क्रमितहरूको व्यवस्थापन गर्न अस्पताल खासै तयारी अवस्थामा रहेको देखिएको छैन। दुईजना सङ्क्रमितका कुरूवाहरू पनि अस्पताल क्षेत्रमा स्वास्थ्य मापदण्डविपरीत घुमफिर गर्दैछन्। उनीहरूले सेनिटाइजर र मास्कको प्रयोग गर्दैनन्। सङ्क्रमितहरूसँग उनीहरूको सहज भेटघाट भइरहेको छ भने अरूसँग पनि स्वास्थ्य मापदण्ड नअपनाएर भेटघाट तथा घुमफिर गर्दैछन्।
कोभिड सङ्कट व्यवस्थापन समितिले अस्पतालमा सङ्क्रमित बढेपछि सोको विकल्पमा नेशनल मेडिकल कलेज, कोरोना अस्पतालमा राख्ने निर्णय गरेको छ। तर स्वास्थ्य मन्त्रालयबाट अहिलेसम्म स्वीकृति नआउँदा सङ्क्रमितहरूको व्यवस्थापनमा कठिनाइ हुन सक्ने बताइएको छ। अहिले पर्सा जिल्लामा ८६ जना सङ्क्रमित छन्। चैत २९ गते एकै दिन २३ जना थपिएका र त्यसअघि चैतको पहिलो सातादेखि २८ गतेसम्म ६३ जना सङ्क्रमित थिए। सङ्क्रमितमध्ये ६१ जना होम आइसोलेशनमा छन् भने दुईजना अस्पतालमा छन्। चैत २९ गते देखिएका २३ जना पनि होम आइसोलेशनमा छन्।
वीरगंजमा मास्कको प्रयोग बढ्यो
पहिलो चरणको कोरोना कमजोर भएसँगै पर्सा जिल्लामा कोरोनासम्बन्धी स्वास्थ्य मापदण्डको प्रयोग नगन्य अवस्थामा भएको देखिए पनि चैत २९ गते एकै दिन २३ जना सङ्क्रमित थपिएपछि वीरगंज महानगरमा मास्क प्रयोगकर्ताको सङ्ख्या ह्वात्तै बढेको छ।
सेनिटाइजर प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्ने र मास्क लगाउने कार्य यसअघिा निकै घटेको थियो। केही मानिसले मात्र स्वास्थ्य मापदण्ड प्रयोग गरेका थिए तर अहिले सङ्क्रमितहरू बढेको समाचारसँगै बजारमा मास्कको प्रयोगकर्ता बढेका छन्। साइकल, मोटरसाइकल, जीप, कार, टेम्पोलगायत सवारीसाधनमा मास्कको प्रयोग बढेको छ भने बजार क्षेत्रमा हिंड्डुल गर्नेहरूले पनि मास्क लगाउन थालेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here