प्रस, वीरगंज, २९ चैत/
एमालेका वरिष्ठ नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सर्वोच्चको फैसला जन्मेको बच्चालाई गर्भमा जा भनेजस्तो भएको टिप्पणी गरेका छन्।
आफ्नो समूहको एमाले अगुवा कार्यकर्ताहरूसँग भेटघाटको लागि शनिवार वीरगंज आएका नेता नेपालले आइतवार प्रेस सङ्गठन पर्साद्वारा आयोजित पत्रकार सम्मेलनमा सर्वोच्च अदालतको निर्णय सम्बन्धमा टिप्पणी गर्दै सो कुरा बताएका हुन्। उनले दुई पार्टीबीच एकता भएर बनेको पार्टीको विषयमा सर्वोच्चको फैसला अस्वाभाविक भएको बताए। उनले भने– केटा र केटीले प्रेम गरे, आपसी सहमतिमा विवाह गरे र एक वर्षपछि जन्मेको बालकलाई सर्वोच्चले फेरि गर्भमा पठाउन खोजेको छ। जुन स्वाभाविक होइन। नेता नेपालले निर्वाचन आयोगप्रति पनि कटाक्ष गरे। उनले भने– नेकपाका अध्यक्ष केपीशर्मा ओलीले फागुन २८ गते केन्द्रीय कमिटीको बैठकमा गरेको गलत निर्णयको विषयमा निर्वाचन आयोगलाई जानकारीसहितको पत्र पठाउँदा पनि सोसम्बन्धी निर्णय हुन नसक्नु विडम्बना भएको बताए। पार्टीले गर्ने निर्णय ठीक–बेठीक भन्ने विषयमा निर्णय गर्ने अधिकार निर्वाचन आयोगलाई भएको तर अहिलेसम्म सोबारे निर्णय नगरेकोमा उनले विमति जनाए। उनले भने– अहिलेसम्म आयोगले निर्णय गरेको छैन। अब कहाँ जाने र उजूरी, विरोध गर्ने ?
नेता नेपालले पार्टीलाई ओलीले पेवा सम्झेको आरोप लगाए। कुर्सीको लोभमा पार्टीलाई अनिर्णयको बन्दी बनाएको र एकलौटी, मनपरी तरीकाबाट पार्टी सञ्चालन गरेको हुँदा उनलाई अधिनायकवादतर्फ उन्मुख भएको आरोप लागेको प्रस्ट्याए। उनले पार्टी सङ्कटमा आउनु र कार्यकर्ता निराश हुनुको एउटै कारण ओली भएको आरोप लगाए। नेता नेपालले यही कारणले आफू पक्षीय कार्यकर्ताहरूलाई एकीकृत गरेर पार्टी शुद्धीकरण अभियान चलाएको र देशभर वडापालिका, जिल्ला, प्रदेशमा समानान्तर कमिटी गठन गरिने बताए। उनले तत्काल अर्को पार्टीको परिकल्पना नगरिएको प्रस्ट्याए।
एमाले सबैको साझा पार्टी भएको र पार्टीभित्र रहेर शुद्धीकरण गरिने उनको भनाइ थियो। नयाँ सरकार गठनको विषयमा उनले विपक्षीहरूमा भर पर्ने बताए। उनले विपक्षी पार्टीहरू सत्ता उन्मुख हुँदै गए पनि उनीहरूबीच सहमति हुन नसकेको र सहमति भएको खण्डमा नयाँ सरकार गठन हुन सक्ने बताए। काङ्ग्रेस, माओवादी, जसपा पार्टीका नेताहरूले सोबारेमा प्रस्ट्याउने भन्दै सो कुरा उनीहरूसँग सोध्न उनले आग्रह गरे।
प्रेस सङ्गठन पर्साका अध्यक्ष नीरज पिठाकोठेको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पूर्वमन्त्री एवं एमालेका नेता घनश्याम भुसाल, रामचन्द साह तेली, संविधानसभा सदस्य विचारी यादव, नागेन्द्र चौधरीलगायतको सहभागिता थियो। पत्रकार सम्मेलनको सहजीकरण मनोज पटेलले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here