प्रस, वीरगंज, २९ चैत/
नारायणी अस्पतालमा आइतवार एकै दिन २८ जना सङ्क्रमित थपिएका छन्।
कोरोनाको कहर कम भएपछि पछिल्लो चरणमा आज आइतवार थपिएका सङ्क्रमित सङ्ख्या सबैभन्दा बढी हो।
चैतको पहिलो सातादेखि पर्सा जिल्लामा पुनः सङ्क्रमित सङ्ख्या थपिने क्रम शुरू भएको हो। जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसियाले चैत २८ गतेसम्म ६३ जना सङ्क्रमित फेला परेको र उनीहरूमध्ये ६१ जना होम आइसोलेशनमा र दुईजना नारायणी अस्पतालको आइसोलेशनमा रहेको बताए।
नारायणी अस्पतालका प्रवक्ता डा सरोज रोशन दासले आइतवार ६१ जनाको स्वाब परीक्षण गरिएकोमा पर्सा र बारामा गरी २८ जना सङ्क्रमित पुष्टि भएको बताए। उनले पर्साका २३ र बाराका ५ जना सङ्क्रमित भएको र तिनीहरूमध्ये १७ जना पुरुष र ११ जना महिला रहेको बताए।
सङ्क्रमित पुष्टि भएकाहरू १८ देखि ६५ वर्ष उमेरका छन् र उनीहरूमा १४.५ देखि ३५.२ सम्म सिटी भ्यालु रहेको जानकारी गराएका छन्।
बाराको जीतपुरसिमरा उपमहानगरका २, कलैया उमनपाका १, परवानीपुर गापाका १ र कोल्हवी नपाका १ गरी ५ जना छन् भने पर्साका विन्ध्वासिनी गापाका १, बहुदरमाई नपाका १ र बाँकी वीमनपाका विभिन्न वडाका २१ जना सङ्क्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here