प्रस, वीरगंज, २३ चैत/
वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोधकुमार गुप्तालगायतको टोलीले सोमवार मुख्यमन्त्रीसँग भेटवार्ता गरेको छ।
जनकपुरमा मुख्यमन्त्री लालबाबूराउत गद्दीको निवासमा पुगेर टोलीले भेटवार्ता गर्दै पर्सा–बारा र वीरगंज–पथलैया औद्योगिक कोरिडोरको अवस्थाबारे जानकारी गराएका थिए। भेटको क्रममा अध्यक्ष गुप्ताले औद्योगिक कोरिडोरलाई वैधानिकरूपमा मान्यता दिनुपर्ने माग गरेका थिए। उनले प्रदेश नं २ रोजगार सृजना, कृषिमा आत्मनिर्भरता, औद्योगिक क्रान्ति, प्रदेश नं २ को अर्थतन्त्र निर्यातमुखी बनाउने, उद्योग, व्यवसायमुखी बैंकिङ नीति, नेपाल तथा भारतको व्यापारिक सम्बन्धलाई अझै सुमधुर बनाउने, कृषि क्रान्तिका लागि “हर खेत में पानी और हर हात में काम” प्रदेश सरकारको नारालाई मूर्त रूप दिनुपर्ने माग गरे। भेटको क्रममा प्रदेश २ मा सञ्चालनमा रहेका विकास निर्माणका परियोजना फास्ट ट्र्याक, हुलाकी राजमार्ग, निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, मुख्य राजमार्गलाई ६ लेनमा स्तरोन्नति गर्न मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराएका थिए।
मुख्यमन्त्री गद्दीले वीउवासङ्घले अघि सारेका मागहरू सम्बोधन गर्ने बताए। टोलीमा सङ्घका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य गोपाल केडिया, सङ्घका वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्ष माधव राजपाललगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here