प्रस, परवानीपुर, २० चैत/
वीरगंज उद्योग वाणिज्य सङ्घको आगामी दुई वर्षको लागि ४५औं साधारणसभाबाट नवनिर्वाचित पदाधिकारीहरूको शपथग्रहण समारोह सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत बालमुकुन्द खरेलले शपथग्रहण गराएका थिए। सङ्घका नवनिर्वाचित अध्यक्ष सुबोध गुप्ताको नेतृत्वमा नवनिर्वाचित पदाधिकारीहरूमा वरिष्ठ उपाध्यक्ष अनिल पाटवारी, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोज दास, वाणिज्यतर्फ सचिव आशिष् लाठ, सहसचिव अनुज रूँगटा, उद्योगतर्फ सचिव अरविन्द आमात्य, सहसचिव सुशान्त चाचान, कोषाध्यक्ष गोविन्द शाह, सहकोषाध्यक्ष प्रेमचन्द्र गोयल, सदस्यहरू मुरली जालान, नीरज अग्रवाल, अवधेश सरावगी, नवनीत अग्रवाल, सुरेश रूँगटा, प्रभात रूँगटा, सौरभ केडिया, सुनील खेतान, मनोज शर्मालगायत ३५ सदस्यीय समिति रहेको छ। वीउवासङ्घका निवर्तमान अध्यक्ष गोपाल केडियाको अध्यक्षतामा सम्पन्न शपथग्रहण समारोहको उद्घाटन प्रदेश २ का मुख्यमन्त्री लालबाबूराउत गद्दीले गरेका थिए। मनोज उपाध्यायले सहजीकरण गरेको कार्यक्रममा मुख्यमन्त्री गद्दी, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, सङ्घीय सांसद प्रदीप यादव, वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगी, नेउवा महासङ्घका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, नेउवा महासङ्घ प्रदेश २ का अध्यक्ष गणेश लाठ, नेउवा महासङ्घका केन्द्रीय सदस्य अजयराज सुमार्गी, प्रदेश सांसद तथा वीउवासङ्घका पूर्वअध्यक्ष ओमप्रकाश शर्मा, नेका पर्साका सभापति अजय द्विवेदी, नेकपा एमालेका अध्यक्ष प्रभु हजरा, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, उद्योगी अशोक टेमानीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा मुख्यमन्त्री गद्दीले प्रदेश सरकार प्रदेशको विकासका लागि प्रतिबद्ध रहेको बताए। उनले प्रदेश सरकारले वीरगंजमा उद्योग विभाग स्थापना गरी तीन दिनमा उद्योग दर्ता, २० वर्षसम्म राजस्व नलिने, जग्गा लिजमा उपलब्ध गराउने, हडतालरहित कोरिडोर बनाउनेलगायतका योजना रहेको बताए। उनले राज्यले बजेट प्रदानमा विभेद गरेको आरोप लगाए। संविधानको व्यवस्थालाई नियन्त्रण गर्न सरकारले ऐन नियमावली बनाएर भएको अधिकार कटौती गरेको पनि उनले आरोप लगाए। राज्यको नजरमा उद्योगी–व्यवसायी लुटेरा रहेको पनि उनले आरोप लगाए।
कार्यक्रममा सङ्घीय सांसद प्रदीप यादवले देशलाई समृद्ध बनाउन वीरगंजलाई समृद्ध बनाउनुपर्ने माग गरे। उनले वीरगंज देशकै मुख्य नाका भएपनि वीरगंजको भौतिक पूर्वाधार गतिलो नभएको आरोप लगाए। उनले पारवहनको सबैभन्दा छोटो नाका भएर वीरगंजले जति फाइदा लिनुपर्ने हो, लिन नसकेको उनको जिकिर थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here