प्रस, वीरगंज, २० चैत/
जगरनाथपुर गाउँपालिका–३ दसौताका बासिन्दाले नारायणी सिंचाइ कार्यालयको तीन बिघा जग्गा धमाधम कब्जा गर्दैछन्।
विगत लामो समयदेखि खाली रहेको सो जग्गा स्थानीय तह गठन भएपछि राजनीतिक बलमा स्थानीयले कब्जा गरेको बताइन्छ। नारायणी सिंचाइ अन्तर्गत जीरो आरडी स्थानमा रहेको तीन बिघा जग्गा नेताका आसेपासेहरूले कब्जा गरेको समाचार स्रोतको दाबी छ। सो ठाउँमा रहेको सिंचाइ भवनबाहेक सबै जग्गा अतिक्रमण भएको छ। जनयुद्धताका स्थानीयहरूले सो जग्गा अतिक्रमण गर्न खोजेको तर माओवादीको डरले जग्गा अतिक्रमण भएको थिएन। तर स्थानीय निर्वाचनपछि सिंचाइ कार्यालयको पर्खाल भत्काएर अतिक्रमणकारीहरूले सो जग्गामा पक्की घर, गोठ बनाउनुका साथै भारतीय नागरिकहरूले पसल सञ्चालन गरिरहेका छन्। अतिक्रमणकारीहरूले १० फिट अग्लो पर्खाल भत्काएर बाटोसमेत बनाएको स्थानीयको आरोप छ। सो विषयमा पटक–पटक विवाद हुँदा दर्जनौं घाइते भएका तथा इलाका प्रशासन कार्यालय पोखरियामा मुद्दा विचाराधीन छ।
नारायणी सिंचाइ डिभिजन कार्यालयका कर्मचारीहरू तथा निर्वाचित जनप्रतिनिधिहरूले चासो नदेखाउँदा जग्गा अतिक्रमण भएको हो। सो जग्गामा रहेको सशस्त्र प्रहरीको चेकपोस्ट र नजीकै रहेको प्रहरी चौकी जानकीटोलाले यस विषयमा चासो देखाएका छैनन्। नारायणी सिंचाइ कार्यालय ब्लक नं ५ का कर्मचारी स्रोतका अनुसार यस विषयमा पटक–पटक प्रहरी र जनप्रतिनिधिलाई जानकारी गराए पनि कुनै सुनवाइ नभएको बताए।
जग्गा अतिक्रमण भएपछि विकासको काम पनि अवरुद्ध भएको छ। नारायणी नहर स्तरोन्नतिको लागि कालोपत्रे भइरहेको छ तर कब्जा गरिएको जग्गामा काम रोकिएको छ। यसबारे ठेकेदारले पटक–पटक स्थानीय प्रतिनिधिलाई जानकारी गराए पनि कुनै चासो देखाइएको छैन। नहर विस्तारको क्रममा ४० फिटको बाटोमा माटो पुर्ने काम भइसकेको तर अतिक्रमण भएको ठाउँमा पुगेर बाटोको निर्माण कार्य रोकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here