चिरञ्जीवी सापकोटा, ठोरी, १८ चैत/
ठोरी गाउँँपालिका–२ को बजारमा रहेको विद्युत् पोलमा एक वर्षमा तीनपटकसम्म आगलागी भएर पोल कमजोर भई केही भाग भाँचिएर दुर्घटनाको सम्भावना बढेको छ।
पोल जलेर कमजोर भएको हुँदा जुनसुकै बेला पनि हावाहुरीका कारण दुर्घटना हुने सम्भावना बढेको स्थानीय बासिन्दाले गुनासो गरेका छन्।
यसबारेमा पटक–पटक सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए पनि कुनै सुनवाइ नभएको शिक्षक अनन्त श्रेष्ठले गुनासो गरे। पोलसँगै रहेको पीपलको रूखको कारण जोखिम बढेकाले पोल स्थानान्तरण गर्नुपर्ने शिक्षक श्रेष्ठले बताए।
वडा कार्यालयले निर्णय गरेर विद्युत् प्राधिकरणमा जानकारी गराएको छ तर पनि पोल स्थानान्तरण गर्ने विषयमा प्राधिकरण गम्भीर देखिएको छैन।
सुवर्णपुर फ्युज सेवा ठोरीका इन्चार्ज रामलाल साहले पोल स्थानान्तरण नेविप्रा पोखरिया वितरण केन्द्रले गर्नुपर्ने भएकोले ढिलो भएको बताए।