प्रस, महोत्तरी, १२ चैत/
एक महीना पहिलेदेखि घरबाट सुत्ने खाटसहित बेपत्ता झा दम्पतीको शव सडक निर्माणको क्रममा बिहीवार फेला परेको छ। गत फागुन १० गते राति घरमा सुतिरहेको अवस्थामा ओछ्यानसहित बेपत्ता भएका महोत्तरी जिल्लाको पिपरा गाउँँपालिका–५ का ६५ वर्षीय मुसाफिर झा र ५८ वर्षीया गीतादेवी झाको शव फेला परेको हो।
पिपरा–२ स्थित पिपरा–धिरापुर सडकखण्डमा गत वर्षको बाढीले २० फिट गहिरो हुने गरी माटो बगाइ बनाएको खाल्डो पुर्ने क्रममा स्काभेटरले खन्दा बोराभित्र बाँधिएको शव फेला परेको थियो। एउटा बोरा फेला परेपछि पुनः खोज्दा सोही स्थानमा अर्को बोरामा पनि शव भेटिएको प्रहरीले जनाएको छ।
प्रदेश नं २ का प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले छुट्टाछुट्टै दुर्ईवटा प्लास्टिक बोरामा शरीरका सबै मासु गलिसकेको र कङ्काल मात्रै बाँकी रहेको अवस्थामा झा दम्पतीको शव फेला परेको जानकारी दिएका छन्। दुवै शव झा दम्पतीकै भएको निजका छोरा मनीषकुमार झाले पहिचान गरेका थिए। मृतकका छोरा मनीषले बुबाले लगाएको कपडा र आमाले लगाएकी चुरा साथै पोतेको आधारमा पहिचान गरेको बताए। घटनास्थलमा प्रदेश नं २ को प्रहरी, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सहोडवाका टोली पुगेर शव सुरक्षित गरी विधि विज्ञान प्रयोगशालामा पठाइएको छ।
झा दम्पतीको खोजतलाश तथा अनुसन्धानका लागि जिल्ला एवं प्रदेश प्रहरीका साथै केन्द्रबाट आएको सिआइबी टोली परिचालित थियो। प्रहरीले करीब ५० जनालाई सोधपूछ गरेपछि घटनाका अभियुक्त चारजनालाई हालै सार्वजनिकसमेत गरे पनि मृतकको शवबारे भने खुलिसकेको थिएन।