प्रस, वीरगंज, १० चैत/
पर्सा जिल्लामा कोरोना सङ्क्रमितहरू फेला परेको र भारतमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढेसँगै कोभिड सङ्कट व्यवस्थापन समिति, पर्साको बैठक मङ्गलवार बसेको छ।
आज बसेको बैठकले सीमानाकामा कडाइ गर्ने, सशस्त्र र जनपद प्रहरीलाई कोरोना नियन्त्रणको लागि तयारी अवस्थामा राख्ने र मुख्य नाकामा सेना परिचालन गर्ने तथा हेल्प डेस्क राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी एवं समितिका संयोजक आसमान तामाङले बताए। उनले कोभिड सङ्क्रमितहरू बढ्न सक्ने सम्भावनालाई दृष्टिगत गर्दै पर्सा जिल्लाका नारायणी अस्पताल, बगही स्वास्थ्य चौकी, पोखरिया अस्पताल, धोबिनी गापाको भिखमपुर स्वास्थ्य चौकीमा कोभिड सङ्क्रमितहरूको लागि शøयाको व्यवस्था गर्ने निर्णय गरेको छ। यसैगरी, फागु पूर्णिमालाई लक्षित गरेर होली खेल्ने क्रममा २५ जनाभन्दा बढीको भीड नगर्न प्रजिअ तामाङले आग्रह गरे। नारायणी अस्पतालमा १५ शøया र पोखरिया र भिखमपुरमा गरी ५/५ शøयाको व्यवस्था गरिने तथा नेशनल मेडिकल कलेज कोरोना अस्पताललाई पुनः सञ्चालनमा ल्याउन मन्त्रालयसँग स्वीकृति माग्ने बैठकले निर्णय गरेको छ।
नारायणी अस्पतालमा एक सातामा १४ जना कोरोना सङ्क्रमित फेला परेपछि तीन महीनादेखि निष्क्रिय रहेको कोभिड सङ्कट व्यवस्थापन समिति जागरूक भएको हो।
आज बसेको बैठकमा प्रमुख जिल्ला अधिकारी आसमान तामाङ, नगरप्रमुख विजयकुमार सरावगी, उपप्रमुख शान्ति कार्की, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जय ठाकुर, प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, प्रमुख सेनानी मदनजङ्ग राणा, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक टीकाप्रसाद खरेल, स्वास्थ्य कार्यालय, पर्साका प्रमुख कामेश्वर चFैरसिया, जिल्ला समन्वय समिति, पर्साका सभापति नेकमहम्मद अन्सारी, वीरगंज महानगरका स्वास्थ्य शाखा प्रमुख अरुणकुमार महतो, प्रमुख कर अधिकृत सुनील यादव, प्रमुख भन्सार प्रशासक महेश आचार्य, घरेलु तथा साना उद्योग प्रमुख रीना साह, वीरगंज कारागारका जेलर किरण थापालगायतको सहभागिता थियो।