प्रस, परवानीपुर, १० चैत/
भूमिसुधार तथा मालपोत कार्यालय पर्साका कर्मचारीहरूले गत पुसदेखि फागुन मसान्तसम्म तीन महीनाको तलबभत्ता पाएका छैनन्।
कार्यालय प्रमुख तथा लेखापालको लापरवाहीका कारण उनीहरूले तलबभत्ता नपाएका हुन्।
कार्यालयले चालू आवको साउनमा पेश गर्नुपर्ने तलबी प्रतिवेदन कोष तथा लेखा नियन्त्रक कार्यालय पर्सामा पेश गरी स्वीकृत नगराएको कारण तीन महीनादेखि कोलेनिकाले कर्मचारीहरूको तलबभत्ता रोक्का राखेको हो।निजामती सेवा ऐन नियमावली २०५० बमोजिम हरेक वर्ष साउन मसान्तमा सरकारी कार्यालयमा कुन महीनामा कुन कुन कर्मचारीको तलबभत्ता कुन कुन ग्रेड अनुसार भुक्तानी दिनेबारेमा तलबी प्रतिवेदन पेश गरी स्वीकृत गराउनुपर्ने व्यवस्था छ। तर गत साउनदेखि हालसम्म तलबी प्रतिवेदन नआएकोले पुस, माघ र फागुन महीनाको तलब नखुवाएको कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साका अधिकृत विष्णु सुवेदीले बताए। उनले गत कात्तिकमैं कार्यालय प्रमुखहरूको बैठकमा यस्तो नियमबारे जानकारी गराउँदा पर्साका ६४ वटा सरकारी कार्यालयमध्ये १२ वटाले मात्र तलबी प्रतिवेदन स्वीकृति गराएका थिए। ५२ वटा कार्यालयले तलबी प्रतिवेदन पेश गराएका छैनन्। तर बैठकपछि अन्य सबैले प्रतिवेदन पेश गरी तलबभत्ता पाउँदै आएका छन्।
भूमिसुधार तथा मालपोत कार्यालय र नारायणी अस्पतालको तलबी प्रतिवदेन स्वीकृत हुन बाँकी रहेकोले तलबभत्ता नपठाएको उनले बताए। नारायणी अस्पतालका कर्मचारीहरूको दरबन्दी केन्द्रीय निजामती किताबखानामा प्रदेश सरकार मातहत देखिएकोले प्रतिवेदन स्वीकृति हुने प्रक्रियामा रहेकाले तलबभत्ता पठाइएको तर भूमिसुधार तथा मालपोत कार्यालयले मङ्गलवार मात्र प्रतिवेदन पेश गरेकोले चाँडै स्वीकृत गरी तलब पठाउने उनले आश्वासन दिए।