प्रस, परवानीपुर, १० चैत/
कोरोनाविरुद्धको खोप लगाएपछि बारामा एकजनाको स्मरणशक्ति गुमेको घटना सार्वजनिक भएको छ। बारा कलैया–११ विश्वम्भरपुर टोल बस्ने ६५ वर्षीय ऐनुल अन्सारीले खोप लगाएको ५ दिनपछि उनको स्मरणशक्ति गुमेको थियो।
फागुन २९ गते नजीकै स्वास्थ्यचौकीमा खोप लगाएका अन्सारीलाई ३–४ दिनसम्म टाउको दुख्ने र हल्का ज्वरोले सताइरहेको भए तापनि पाँचौं दिन उनले घरपरिवारका मानिसलाई चिन्न छोडेपछि परिवारजनले उपचारका लागि वीरगंज लिङ्क रोडस्थित भवानी अस्पतालमा भर्ना गराएका थिए।
उपचारको क्रममा उनलाई एक दिन नसा मजबूत गर्ने औषधि चलाएपछि उनको स्मरणशक्ति पुनः फिर्ता भएको थियो।
न्यूरो सर्जन डा विपिन चौरसियाका अनुसार कोरोना खोपको हिस्ट्रीले गर्दा यस्तो जटिलता उत्पन्न भएको हुन सक्ने बताए।अक्सफोर्ड/अस्ट्राजेनिकाले भारतको सिरम इन्स्टिच्यूटमार्फत विकास गरेको कोभिशिल्ड खोपलाई मात्रै हालसम्म नेपाल सरकारले आपत्कालीन प्रयोगको लागि अनुमति दिएको छ।
कोभिशिल्ड खोप लगाएको पाँच दिनपछि यस्तो अवस्था सृजना हुने चिकित्साशास्त्रको लागि एउटा चिन्ताको विषय भएको बताए। उनले यस विषयमा सरोकारवालाहरूको ध्यान जानुपर्ने धारणा राखे। उनका अनुसार ‘सर्ट टर्म मेमोरी लस’को समस्या लिएर आएका बिरामीमा डाइग्नोसिस गर्दा ट्रान्जियन्ट ग्लोबल एम्नेसियाको अवस्था विश्लेषण गरेर औषधोपचारपछि आइतवार साँझ बिरामीलाई घर पठाइएको बताए।
यस विषयमा स्वास्थ्य विभाग अन्तर्गतको उपचारात्मक महाशाखाका प्रमुख डा मदन उपाध्यायले कोभिशिल्डको यस्तो असर प्रथमपटक सुनिएको बताए। उनले कुनै खोपमा खोप लगाएको केही समयमैं असर देखिन्छ भने कुनैमा दीर्घकालीन असर देखिने बताए। कोरोना र विकसित खोप पनि नयाँ भएकोले अहिले पनि अध्ययनकै चरणमा रहेको बताए।