प्रस, सप्तरी, १० चैत/
विवरण ढाँटेर नेपाली नागरिकता लिएको अभियोगमा एकै परिवारका छजनामाथि कैद सजाय भएको छ। सप्तरी जिल्ला अदालतले मङ्गलवार भारतीय नागरिकले नेपाली नागरिकता लिएको ठहर गर्दै एकै परिवारका छजनालाई कैद र जरिवानाको सजाय तोकेको हो।
नेपाली महिलासँग विवाह गरेका भारतको बिहार, मधुवनीको घोघडिह स्थायी घर भएका ७० वर्षीय गङ्गाधर यादवसहित उनका दुर्ई छोरा, दुर्ई बुहारी र एक नातिलाई कैदका साथै जरिवानाको सजायको फैसला गरेको हो। जिल्ला न्यायाधीश रीता बखे्रलको एकल इजलाशले गङ्गाधरलाई तीन वर्ष कैद र रु २० हजार जरिवाना, उनका छोरा कमलदेव र अमरेन्द्रलाई दुर्ई/दुर्ई वर्ष कैद र रु १०/१० हजार जरिवाना, बुहारी गुलाबदेवी र ममतादेवीका साथै नाति विवेकानन्दलाई जनही एक वर्ष कैद र रु १० हजार जरिवानाको फैसला भएको अदालतको श्रेस्ता शाखाले जनाएको छ।
सामाजिक परम्परा अनुसार ५० वर्षअघि सुभद्रादेवीसँग पहिलो विवाह गरेका गङ्गाधरले भारतीय महिलासँग दोस्रो विवाह गरी भारतमा बसोबास गर्दै आएका छन्। सुभद्रादेवी भने डाक्नेश्रीस्थित माइतमा बस्ने गर्छिन्। गङ्गाधरले आफ्नी सासूको नागरिकता नम्बर किर्ते गरी आफ्नो बनाएको र मतदाता परिचयपत्रसमेत बनाइ मतदान गर्दै आएका छन्। अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार गङ्गाधरकै किर्ते नागरिकताका आधारमा उनका छोरा, बुहारी र नातिले समेत वंशजको नेपाली नागरिकताको प्रमाणपत्र लिएका हुन्।
जिल्ला प्रशासन कार्यालयमा डाक्नेश्वरी नगरपालिका–२ का अरुणकुमार यादवबाट कात्तिक १६ गते उजूरी परेपछि प्रशासनले छानबिन शुरू गरेको थियो। जिल्ला प्रशासन कार्यालयले त्यसबारे छानबिन गर्न प्रहरीमा कात्तिक २० गते पत्राचार गरेपछि प्रमाण खोज्दै जाँदा उनीहरूको नागरिकता किर्ते रहेको ठहर भएको जिप्रका सप्तरीले जनाएको छ।