प्रस, वीरगंज, १० चैत/
क्युकोशिन कराँते राष्ट्रिय प्रतियोगिता–२०२१ मा पदक जित्न सफल खेलाडीहरू वीरगंज आइपुगेका छन्। प्रतियोगितामा प्रदेश नं २ को प्रतिनिधित्व गर्दै वीरगंजकी स्नेहा महतो र अस्मिता धरेलले रजत पदक जितेकी हुन्।सोमवार राति वीरगंज आइपुगेका खेलाडीहरूले मङ्गलवार प्रतीककर्मीसँग कुरा गर्दै प्रतियोगिताको अवस्था, अनुभव र सफलताबारे जानकारी गराएका थिए। भक्तपुर जिल्लाको मध्यपुर थिमी नगरपालिकामा चैत ६ र ७ गते दुई दिन सञ्चालित प्रतियोगितामा नेपाल सिन क्युकोशिन कराँते डोजो वीरगंजका खेलाडी स्नेहा महतोले महिला खुल्ला तौल समूहमा दोस्रो स्थान हासिल गरेकी थिइन्। त्यसैगरी, ४५ किलो तौल समूहमा सोही डोजोकी अस्मिता धरेलले दोस्रो स्थान हासिल गरी प्रदेश २ को लागि रजत पदक दिलाएकी थिइन्। शिन क्युकोशिन कराँते डोजो वीरगंजबाट चारजना खेलाडीले भाग लिएकोमा दुईजनाले पदक हात पारेको उक्त डोजोका मुख्य प्रशिक्षक राजकुमार महतोले जानकारी गराएका छन्।
शिन क्युकोशिन कराँते एशोसिएशनका राष्ट्रिय उपाध्यक्षसमेत रहेका महतोले राष्ट्रिय प्रतियोगितमा राम्रो खेल प्रदर्शन गर्नुका साथै उपाधि हासिल गरेर आफनो प्रदेश, जिल्ला र वीरगंज महानगरको समेत नाम उँचो पार्न आफ्नो डोजो सफल भएको बताए। क्युकोशिन कराँते स्वस्थ, तन्दुरुस्तीका साथै आत्मरक्षाको निम्ति पनि भरपर्दो हुने भएकोले हरेक पालिकाले यस खेलको विकासमा ध्यान दिनुपर्ने मुख्य प्रशिक्षक महतोले जोड दिए।