प्रस, वीरगंज, ९ चैत/
जिल्ला प्रहरी कार्यालय, पर्साको तथ्याङ्क अनुसार गत वर्षको तुलना यस वर्ष अपराधका घटनामा वृद्धि भएको छ। जिप्रका पर्साले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालू आवको ६ महीनामा गत वर्षको तुलनामा अपराधको सङ्ख्या बढेको हो।
गत आवमा दर्ता भएका सबैखाले अपराधका घटनामा १ हजार ८१ वटा मुद्दा दर्ता भएको थियो भने चालू आवको ६ महीनामा ६०५ वटा मुद्दा दर्ता भएको छ।
गत वर्षको तुलना गर्ने हो भने यस वर्ष २ सयवटा मुद्दा बढी दर्ता भएको तथ्याङ्कले देखाउँछ।
जिप्रका, पर्साका अनुसार गत वर्ष कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगका ४५ वटा मुद्दा दर्ता भए भने चालू आवको ६ महीनामा २९ वटा मुद्दा दर्ता भए। यसैगरी, विषसेवन, झुन्डिएर, आगो लगाइ र हाम फालेर आत्महत्या गर्नेको सङ्ख्या गत वर्ष ९५ वटा रह्यो भने यस वर्ष ६६ वटा मुद्दा दर्ता भए। यसैगरी, भवितव्य ज्यान, फुटकर ज्यान, सवारी ज्यान र ज्यानसम्बन्धी मुद्दा गत वर्ष १२० वटा दर्ता भए भने चालू आवको ६ महीनामा ७२ वटा मुद्दा दर्ता भए। जबरजस्ती करणी, उद्योग, बाल यौन दुव्र्यवहार, अप्राकृतिक मैथुन, यौन दुव्र्यवहार, जबरजस्ती करणी उद्योग, ज्यान मार्ने उद्योग, अपहरण तथा जबरजस्ती करणीका मुद्दामा गत वर्ष ४९ वटा मुद्दा दर्ता भए भने यस वर्षको ६ महीनामा २६ वटा दर्ता भइसके।
यसैगरी, लागूऔषधमा गत वर्ष १११, वित्तीय कारोबार हुन्डीमा २४, सार्वजनिक शान्तिविरुद्धको मुद्दामा ३६५ वटा मुद्दा दर्ता भए भने चालू आवको ६ महीनामा क्रमशः ७२, ८, २ सयवटा मुद्दा दर्ता भए। बैंकिङ कसूरमा गत वर्ष ९० वटा मुद्दा दर्ता भएको थियो भने चालू आवमा ४० वटा तथा ठगी, सङ्गठित अपराध मुद्दामा २२ वटा मुद्दा दर्ता भएको थियो भने चालू आवको ६ महीनामा ११ वटा मुद्दा दर्ता भएको थियो।