प्रस, वीरगंज, ९ चैत/
वीरगंज महानगरका प्रमुख विजयकुमार सरावगीले कोरोनाविरुद्धको अभियान तत्कालै सञ्चालन गर्नुपर्ने बताएका छन्।
प्रतीकसँग कुराकानी गर्ने क्रममा नगरप्रमुख सरावगीले लामो समयपछि वीरगंजमा १४ जनामा कोरोना सङ्क्रमण भेटिएको बताए। उनले अहिले भेटिएका कोरोना सङ्क्रमितहरूको स्वरूप भिन्न खाले भएकाले यसबारेमा चिन्तित हुनुपर्ने बताए। होली पर्व नजिकिएको र सीमा भएर नेपाली भारत जाने र भारतीयहरू नेपाल आउने क्रम बढेकाले सजकता अपनाउन सुझाव दिए। उनले दुवैतर्फबाट मानिसको आउजाउ हुने हुनाले सङ्क्रमण ल्याउने र लैजाने क्रम हुने भन्दै तत्कालै यस सम्बन्धमा सजगता अपनाउनुपर्ने बताए। उनले यसबारेमा आफूले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको बताए। अबका दिनमा सामाजिक दूरी कायम गर्ने, विसङ्क्रमित गर्ने र भीडभाड कम गर्ने जस्ता कोरोनाविरुद्ध पूर्ववत् सतर्कता अपनाउनुपर्ने बताएका छन्।
वीरगंज महानगर स्वास्थ्य महाशाखाका प्रमुख अरुण महतोले कोभिड न्यूनीकरणको लागि वीरगंज महानगरपालिकाले आगामी दिनमा सशक्त कदम उठाउने बताए। उनले विगतमा महानगरपालिकाले कोभिड रोकथाममा गतिलो काम गरेको दाबी गरे। उनले महानगरले आफ्नो शक्ति र सामथ्र्यले भ्याएसम्म कोभिड नियन्त्रणमा काम गर्ने जानकारी गराए।
यसैबीच, स्वास्थ्य महाशाखा प्रमुख महतोले विगतमा कोभिड नियन्त्रणमा खटेका सबैजनाको जोखिम भत्ता भुक्तानी भएको दाबी गरे। उनले व्यक्तिको नाममा एकाउन्टपेयी चेक पठाएको र भुक्तानी गर्ने संस्थाले नदिएको भन्दै उनले कसैको नाममा जोखिम भत्ता बाँकी नरहेको बताए।