प्रस, रौतहट, ९ चैत/
रौतहटका सक्रिय पत्रकारहरूलाई सदस्यताबाट वञ्चित गराएको भन्दै नेपाल पत्रकार महासङ्घ रौतहट शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ। रौतहट शाखाका अध्यक्ष रवीन्द्र साह कार्यालयमा बसिरहेका बेला उनलाई बाहिर निकाली सञ्चारकर्मीहरूले तालाबन्दी गरेका हुन्। जिल्लाका क्रियाशील सञ्चारकर्मीहरूले विगतमा नयाँ सदस्यताको लागि पटक–पटक रौतहट शाखा र प्रदेश समिति २ मा निवेदन दिए पनि ध्यान नदिएको र महासङ्घको सदस्यताबाट वञ्चित गराउने कार्य गरेको सञ्चारकर्मीहरूको आरोप छ। योग्यता पुगेका सञ्चारकर्मीहरूलाई अविलम्ब नयाँ सदस्यता वितरण गर्न उनीहरूले माग गरेका छन्।
असन्तुष्ट पक्षले महासङ्घ अध्यक्ष साहलाई ज्ञापनपत्र बुझाउँदै सदस्यता पाउने अधिकारबाट वञ्चित नगर्न आग्रह गरेका छन्। माग पूरा नभएमा चरणबद्ध आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका छन्। सदस्यता नपाएका सञ्चारकर्मीहरूले रौतहट सदरमुकाम गौर नगरको विभिन्न भाग परिक्रमा गरी महासङ्घको कार्यालय पुगेका थिए।