प्रस, वीरगंज, ७ भदौ/
विन्दवासिनी गाउँपालिका–२ भएर बग्ने ढोंगही नदी पुनः नयाँ धारबाट बग्न थालेको छ। पुरानो प्राकृतिक बहाव बन्द गरेर भूमाफियाले बनाएको नयाँ धारबाटै नदी बग्न थालेको हो।
धार्मिक महत्वको ढोंगही नदी सार्वजनिक श्मशान घाट र उत्तरवाहिनी स्थलमा जेरीजस्तै बाङ्गोटिङ्गो र घुमेर बगेको थियो। प्राकृतिकरूपमा यसैगरी बगेर आएको हुँदा नदीको नक्शा पनि त्यस्तै छ। पछिल्लो समय सो आसपास वीरगंज–ठोरी हुलाकी सडकसँगै जोडिएको जग्गा भूमाफियाले खरिद गरेपछि नदीलाई सीधा पारेर घुमेको ठाउँको जमीन हडप्ने प्रयास भइरहेको छ।उक्त क्षेत्रमा बितेको साउन महीनाको एकै रात नदीले करीब पाँच सय मिटर नयाँ बाटो बनाएको थियो । गोप्यरूपमा नयाँ ठाउँको नम्बरी जग्गाबाट बग्नेगरी नदी सोझो पारिएपछि नदी उकासको करीब दुई हजार मीटर लामो जमीन जग्गाधनीले आफ्नो जमीनमा पारेका थिए। नदीको प्राकृतिक बहाव परिवर्तन गर्न र उकासको जमीन अतिक्रमण कानूनविपरित हुने भन्दै गाउँपालिकाले तत्काल निर्णय गर्दै जनप्रतिनीधि, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहभागितामा नदी पुरानै धारबाट बग्न दिएका थिए। तर नदीले साबिक बाटो छाडेर भूमाफियाले घुमाएकै ठाउँबाट बग्न थालेको स्थानीय बासिन्दाले बताएका छन्। अहिले नदी नम्बरी जग्गामा निर्माण गरिएको नयाँ धारबाट बगिरहेको छ।
अहिलेको धारबाट नदी बग्दा प्लटिङ गर्नेको पाँच बिघा नदीमा जाने तर २५ बिघाभन्दा बढी जमीन हात पर्छ। भूमाफियाको करतूत सफल भयो भने सार्वजनिक श्मशान घाट र धार्मिक आस्थाको उत्तरवाहिनी स्नानस्थल मासिन्छ। नदी पुरानै साबिक धार भएर बगाउनुपर्ने माग गर्दै पालिकामा पहल गरेका वडा नं. २ का अध्यक्ष सञ्जय चौहानले नदी पुनः कृत्रिम बाटो भएर बगेको आफूलाई जानकारी नभएको बताए। तत्काल स्थलगत निरीक्षण गरेर वास्तविकता बुझ्ने वडा अध्यक्ष चौहानले बताएका छन्।
गापाका प्रशासकीय अधिकृत मुन्नाप्रसाद रौनियार भूमाफियालाई कडा कारबाई हुनुपर्ने र नदीको धार पुर्न लगाई क्षतिपूर्ति समेत भराउनुपर्ने बताउँछन्। न्यायिक प्रक्रियाबाट अगाडि बढ्नुपर्ने उनको तर्क छ।
सो सम्बन्धमा पालिका अध्यक्ष श्रीलाल साह कानूले नदी नयाँ स्थानमा बगेको कुरा थाहा भएको भन्दै सो स्थानमा बलियोसँग बाँध बाँधेर पुरानो स्थानबाट नै नदी बगाउन पालिकाले बजेटसमेत विनियोजन गरिसकेको बताए। पालिकाको निर्णयपछि पालिकाले थुनेको बाँध कसले खोल्यो भन्ने यकीन नभएको र वर्षात्को कारण पनि बाँध फुटेको हुन सक्ने उनको अनुमान छ। आउँदो महीना दिनभित्र नयाँ बहाव बन्द गरी साबिक स्थानबाट खोला बगाइने प्रतीकसँगको कुराकानीमा अध्यक्ष कानूले बताएका छन्।
जग्गा खरीदकर्तामध्येका रामनारायण ठाकुरले पालिकाको निर्णय मानेको र पछिल्लोपटक बाँध भत्काउने कार्य जग्गाधनीहरूबाट नभएको बताएका छन्।