प्रस, वीरगंज, ३ चैत/
पर्सा जिल्लामा दोस्रो चरणको कोरोनाविरुद्धको खोप करीब तीस हजार जनाले लिएको स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसियाले बताए।
दोस्रो चरणको खोप फागुन २३ देखि चैत २ गतेसम्मको समयसीमा तोकिएकोमा खोप मौज्दात भएपछि पर्सा जिल्लामा चैत ३ गते पनि लगाइएको र सो अवधिमा २९ हजार ४ सय ४० जनाले खोप लिएको प्रमुख चौरसियाले प्रतीकलाई बताए।
उनले बुधवार दोस्रो चरणको खोप लगाउने काम सकिएको र अब पहिलो चरणको दुईपटक प्राथमिकतामा परेकाहरूलाई वैशाख ७ गतेदेखि दिने खोपको तयारीमा जुटेको बताए। सरकारले ६५ वर्ष उमेरमाथिका ज्येष्ठ नागरिक र पहिलो चरणको दुईपटक प्राथमिकतामा परेर छुटेकाहरूलाई फागुन २३ गतेदेखि दोस्रो चरणमा खोप लगाइएको थियो।
पर्सा जिल्लाको वीरगंज महानगरपालिकाका ३२ वटै वडा, बहुदरमाई नगरपालिका, कालिकामाई, छिपहरमाई, पकहामैनपुर, विन्ध्यवासिनी, धोबिनी गाउँपालिकाका स्वास्थ्य चौकीमार्फत दोस्रो चरणको खोप लगाइएको थियो। दोस्रो चरणको लागि पर्सा जिल्लामा ३५५० फाइल खोप आएको प्रमुख चौरसियाले बताए। एउटा फाइलबाट दशजनालाई खोप लगाइन्छ।पहिलो खोप लिएकाहरूले ८ देखि १२ हप्ताभित्रमा अर्काे खोप लिने व्यवस्था अनुसार सरकारले पहिलो चरणको दुईपटक प्राथमिकतामा परेका चिकित्सक, स्वास्थ्यकर्मी, वारुणयन्त्र, शववाहन, एम्बुलेन्स चालक, सुरक्षाकर्मी, पत्रकार, जनप्रतिनिधि, सफाइकर्मीलाई वैशाख ७ गतेदेखि दिने सरकारले व्यवस्था गरेको छ। दोस्रो चरणमा लिएकाहरूलाई भने त्यसपछि मिति तय हुने बताइएको छ। पहिलो चरणको खोप नेपालमा माघ १४ गतेदेखि शुरू भएको र सोही चरणको दोस्रो प्राथमिकताको खोप फागुन २ गतेदेखि शुरू भएको थियो। दोस्रो चरणको खोप भने फागुन २३ गतेदेखि चैत २ गतेसम्म ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक लक्षित थियो।