सञ्जय साह मित्र
हरेक दश वर्षमा हुने राष्ट्रिय जनगणनो दुई महीनापछि हुँदैछ। २०७८ जेठमा राष्ट्रिय जनगणना हुने निश्चित भएको छ। हरेक दश वर्षमा प्रायः यसै समयमा हुने गर्दछ। विश्वका अधिकांश देशमा यही समयमा जनगणना हुने गर्दछ। यसले गर्दा २०७८ वा अन्य देश जहाँ यो जनगणना हुँदैछ सन् २०२१ धेरै कारणले महत्वपूर्ण हुने भएको छ। यद्यपि राष्ट्रिय जनगणनाको महत्व नै नबुझ्नेलाई यसबारे जति भने पनि खासै केही नहोला तर जनगणनाको महत्व बुझ्नेले यसबारे अहिलेदेखि नै गम्भीर हुनु आवश्यक देखिएको छ। वास्तवमा राष्ट्रिय जनगणनालाई सफल बनाउनु हरेक नागरिकको विशिष्ट कर्तव्य नै हो।
जनगणनाको सामान्य महत्व यो पनि रहेको छ कि विश्वको जनसङ्ख्या कति हो भन्ने मानिसलाई थाहा हुन्छ। विश्वको कुन कुनामा जनसङ्ख्याको अवस्था कस्तो छ, दश वर्षमा जनसङ्ख्या कति दरले वृद्धि व कम भयो, वृद्धि वा ह्रासका कारण के–के हुन्, कुन उमेरका मानिस बढी छन्, कसरी मानिसको आयु बढिरहेको छ वा घटिरहेको छ ? यसैगरी मानिसको बसाइँसराइको अवस्था कस्तो छ, बसाइँसराइ किन हुन्छ, कुन क्षेत्रमा बढी बसाइँसराइ भएको छ ? जनसङ्ख्याको वृद्धि दर वा बसाइँसराइले स्थानीय पारिस्थितिक प्रणालीमा कस्तो असर पु–याउँछ, यसै दरमा वृद्धि वा बसाइँसराइ हुने हो भने भविष्यमा कस्तो असर पर्ला ? जनसङ्ख्या वृद्धिदर कुन क्षेत्रको लागि फाइदाजनक वा कुन क्षेत्रको लागि हानिकारक छ ? संसारमा कति किसिमका भाषा बोलिन्छन् ? कति किसिमका जाति छन् ? कति देशमा कुनकुन भाषा वा जाति छन् ? यसैगरी कुन जाति, भाषा, धर्मका मानिस गत दश वर्षमा कति बढे वा कम भए ? कुनै स्थिर पो रहे कि ? कुनै भाषा वा जाति लोप नै भयो कि ? किन लोप भयो ? यदि लोपोन्मुख अवस्थामा पुग्यो, त्यसको कसरी संरक्षण गर्ने, कसरी वृद्धि गर्ने वा कसरी कायम राख्ने ? जनगणनाप्रति वा विश्वको तथ्याङ्कप्रति रुचि लिनेहरूले विश्वको साक्षरता, विश्वका मानिसहरूको शिक्षाको स्तरका साथै मानव विकास सूचकाङ्क र यसका अन्य अवयवबारे पनि चासो राख्ने गरेका छन्। यी सबैमा आफ्नो देशको स्थान कहाँ छ भन्ने विषयमा पनि जनगणनाबाट धेरै तथ्य पाउन सकिन्छ।
राष्ट्रिय जनगणनाको नतीजा तुरुन्तै आइहाल्दैन। धेरै किसिमका तथ्याङ्कहरू सङ्कलन गरिने हुनाले ती तथ्याङ्कहरूलाई एकीकृत गर्न तथा सबैतिरका तथ्याङ्कलाई फेरि विभिन्न किसिमले विश्लेषण गर्न केही समय लाग्छ। हुन त अहिले कम्प्युटरको युग आइसकेको छ, तथ्याङ्कहरू कम्प्युटरमा नै प्रशोधन हुने गर्दछ। यसले गर्दा जनगणनाको रिपोर्ट तुलनात्मकरूपमा छिटो आउने सम्भावना हुन्छ तर पहिलेभन्दा जनगणनामा समावेश गरिने विषय र पक्ष बढेको तथा जनगणना पनि बढी विश्वसनीय बनाउने आधारहरूसमेत वृद्धि भएको परिवेशमा जनगणनाको रिपोर्ट आउन प्रशोधनमा नै केही थप विलम्ब हुने पनि हुन सक्छ। यदि पहिलेकै जति तथ्याङ्क विषयवस्तु समेटिएको अन्तिम रिपोर्ट आउने हो भने पहिलेभन्दा निकै छिटो हुन सक्थ्यो तर यसपटक धेरै विषयवस्तु समेटिएको बहुआयामिक नतीजा आउने हुनाले र सम्पूर्ण डाटा प्रशोधन कम्प्युटरमार्फत हुने हुनाले तुलनात्मक छिटो हुने विश्वास गर्न सकिन्छ।राष्ट्रिय जनगणनामा पहिलेभन्दा बढी विषयवस्तु समेटिनु एउटा पक्ष हो। अर्को महत्वपूर्ण पक्ष के छ भने पहिलेभन्दा फरक किसिमका मानिसले जनगणना गर्दैछन्। देशका बेरोजगारी युवाहरूको काँधमा गणनाको मुख्य पक्ष आउँदैछ। हरेक स्थानीय तह र सम्भव भएसम्म त्यहीं स्थानीय तह वा वडाका गणक बनाइँदैछ। गणकले स्थानीय धेरै कुरा पहिलेदेखि नै जान्ने भएकोले पनि यस प्रकारको व्यवस्थापन गरिएको हुनुपर्छ। दोस्रो कुरा यो पनि हो कि बेरोजगारी युवाले केही महीनाको लागि भए पनि स्वदेशमैं रोजगार पाउँछन् जसको महत्व कम्तीमा दश वर्ष देशको योजना निर्माण, नीति निर्माण, प्रदेश तथा स्थानीय सरकारको योजना तथा नीति र विकास निर्माणसम्म पर्दछ। साथै शिक्षा, स्वास्थ्य तथा अन्य पक्षमा पनि यसको प्रभाव देखिने हुन्छ। यसले गर्दा बेरोजगारी युवाहरूले कम्तीमा दश वर्ष र त्यसपछि आजीवन यो गर्व गर्न पाउँछन् कि इमानदारीपूर्वक देशको एक वर्षको जनगणना सफलतापूर्वक सम्पन्न गरे।
देशमा सङ्घीयता कार्यान्वयनमा आएको र नेपालको संविधान (२०७२) जारी भएको समयपछिको यो पहिलो राष्ट्रिय जनगणना हो। यसकारण यस जनगणनाको थप महत्व छ। राष्ट्रियस्तरको जनगणना पहिलेजस्तै स्वरूपमा भए पनि यसभित्र देश, प्रदेश, जिल्ला र स्थानीय तहको करीब अलग अलग तथ्याङ्कको नतीजाको विश्लेषण गरिने निश्चित छ। पहिलेदेखि नै देशमा सङ्घीयता लागू छ र यसमा आरक्षण व्यवस्था पनि छ। अहिलेको जनगणनाको अन्तिम नतीजाले दिने तथ्याङ्कले देशदेखि प्रदेश हुँदै स्थानीय तहसम्म आरक्षणको मुद्दा पनि उठाउने निश्चित छ। हुन त यो मुद्दा पहिलेदेखि नै स्थापित छ तर आउँदो जनगणनाको परिणामले यसलाई थप संस्थागत बनाउने देखिन्छ। जनगणनाको नतीजाले प्रदेशको सरकारी कामकाजको भाषा, स्थानीय तहको सरकारी कामकाजको भाषालगायत क्षेत्रमा महत्वपूर्ण काम गर्न सक्ने हुनाले यसको महत्व बढेको हो। यसैगरी लोपोन्मुख जाति तथा भाषा र संस्कृतिको लागि विशेष योजना बनाउन पनि यही जनगणनाको नतीजाले बाटो तय गर्नेछ।
स्थानीय तहदेखि विश्वस्तरसम्म जनगणनाको महत्व हुने हुनाले हरेक शिक्षित तथा सामान्य नागरिकले आफ्नो र समाजको विषयमा सत्य, तथ्य विवरण गणकलाई उपलब्ध गराउनु सबैको साझा दायित्व हुन आउँछ। यही जनगणनाको रिपोर्टको आधारमा आगामी कम्तीमा दश वर्षसम्म विकास निर्माणदेखि विभिन्न नीति निर्माण गरिने र कार्यान्व्यनसमेत गरिने हुनाले जनगणनाको मूल्य र मान्यतामा कायम रही सम्भव भएसम्म हरेक मानिसले आफ्नो क्षेत्रबाट यसलाई सुसम्पन्न गर्न सहयोग गर्नुपर्ने कर्तव्य हुन आउँछ। विगतका वर्षहरूमा जनगणनाको समयमा भूमिगत समूहको डर रहेकोले थोरै भए पनि, कतैकतै जनगणनामा प्रभाव परेको सुनिन्थ्यो तर यसपटक भूमिगत दलको गतिविधि नरहेको तथा देशको राजनैतिक अवस्था पनि तुलनात्मकरूपमा शान्तिपूर्ण रहेको पृष्ठभूमिमा राष्ट्रिय जनगणनालाई थप विश्वसनीय बनाउने आधार तय गरेको छ। यस जनगणनालाई सभ्यता र भव्यतापूर्वक सम्पन्न गराउन नागरिक समाजको भूमिका अति विशिष्ट हुने भएकोले गणकहरूलाई सही विवरण उपलब्ध गराएर राष्ट्रिय जनगणनाप्रति आफ्नो दायित्व निर्वाह गर्न हरेक नागरिकको राष्ट्रप्रतिको दायित्व पनि हो। सबैभन्दा ठूलो कुरा जनगणनालाई सकारात्मकरूपमा लिई प्रत्येक नागरिकले तनमनले सहयोग गर्नु नागरिक सचेतनाको दृष्टिकोणले पनि देय हुन आउँछ।