प्रस, परवानीपुर, २८ फागुन/
जीतपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित म्याग्नस फर्मास्युटिकल्सको दक्षिण–पूर्वमा थुपारिएको छाई (धानको भुसको खरानी)मा पुरिएको अवस्थामा एकजना बालकको शव बरामद भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
बरामद बालकको शव सोही टोल निवासी जाकिर हुसैन मियाँ मन्सुरीका १४ वर्षीय छोरा साहिद हुसैन मियाँ मन्सुरीको हुन सक्ने प्रहरीले अनुुमान गरेको छ। बारा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बालक मन्सुरी बेपत्ता रहेको र सो शव उनकै हुन सक्ने अनुमान गरे। बालकका पिताले दिएको हुलियासँग बरामद शव मिल्दोजुल्दो भएकोले सो शव बालक मन्सुरीको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए। बालक मन्सुरी विगत १७ दिनदेखि बेपत्ता थिए।
उनको अपहरणपछि हत्या गरी फालिएको हुन सक्ने परिवारजनले आशङ्का गरेका छन्। परवानीपुस्थित ज्ञानसागर बोर्डिङ स्कूलमा अध्ययनरत साहिद फागुन ११ गते टोलमा आएको जन्ती हेर्नका लागि राति ११ बजे घरबाट निस्किएका र त्यसपछि सम्पर्कविहीन भएका थिए।
उनले लगाएको रातो टिर्सट, ब्लु प्यान्ट र रातो/पहेंलो रड्ढो प्लास्टिकको चप्पलबाट बरामद शव बालक मन्सुरीको भएको काका ताहिर हुसैन मियाँ मन्सुरीले पुष्टि गरेका छन्। प्रहरीले शुक्रवार बिहान साढे ८ बजे शव बरामद गरेको र थप कुराको पुष्टि शवको शल्यपरीक्षण र डिएनए परीक्षणबाट हुन सक्ने बताएको छ। परिवारजनले घटनाको छानबिन गरी दोषी पत्ता लगाउन माग गरेका छन्।
व्यक्तिगत रिसइबीका कारण बालकको अपहरण गरी हत्या गरिएको परिवारजनको भनाइ छ। प्रहरीले भने अनुसन्धानबाट तथ्य खुल्ने र प्रहरी बालक हराएको दिनदेखि नै सक्रिय रहेको दाबी गरेको छ।