प्रस, ठोरी, २६ फागुन/
प्रदेश २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले बुधवार सशस्त्र प्रहरी बल आउटपोस्ट विजयबस्ती भवनको उद्घाटन गरेका छन्।
ठोरी गापा–४ मा निर्मित सो भवनको उद्घाटन गर्दै सप्रनामनि गौतमले सीमा अतिक्रमण रोकथाममा सशस्त्र प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताए। उनले सशस्त्र प्रहरीको भवन निर्माणका लागि जग्गा उपलब्ध गराएका सन्तोष श्रेष्ठलाई धन्यवाद दिए। श्रेष्ठले भवन निर्माणको लागि सशस्त्र प्रहरीलाई ५ कट्ठा जग्गा उपलब्ध गराएका थिए। वडाध्यक्ष बईबहादुर पाख्रिनको अध्यक्षतामा भएको उद्घाटन समारोहमा गापा अध्यक्ष पद्मलाल श्रेष्ठ, प्रजिअ आसमान तामाङ, प्रउ बेलबहादुर पाण्डे, सप्रउ राजेन्द्र खड्का, स्थानीय समाजसेवी जरी लामा, रामबहादुर श्रेष्ठलगायतको सहभागिता थियो। सो पोस्टमा सप्रनि मानबहादुर पाण्डेको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी तैनाथ रहने बिओपी ठोरीका सप्रनि शङ्कर कोइरालाले बताए।
यसैगरी, विन्ध्यवासिनी गापामा नवनिर्मित सशस्त्र प्रहरी बल नेपाल बिओपी प्रसौनीभाठाको सप्रनामनि गौतमले उद्घाटन गरे। विन्ध्यवासिनी गापा–५ प्रसौनीभाठामा निर्माण गरिएको बिओपी पोस्ट उद्घाटन समारोहमा गापा अध्यक्ष श्रीलाल साह, उपाध्यक्ष किरणदेवी गुप्तालगायतको सहभागिता थियो।