प्रस, पंचगावाँ, २५ फागुन/
पर्साको राष्ट्रिय वन र पर्सा राष्ट्रिय निकुञ्जको जङ्गलमा डढेलो लाग्न शुरू भएको छ।
शिशिर ऋतुमा रूखको पात झर्ने र वसन्तमा नयाँ पात पलाउने गर्छ। अहिले रूखबाट झरेका पातहरू सुकेको र त्यहाँ लापरवाही भएको कारण डढेलो लागेको पटेर्वासुगौली गाउँपालिका–३ सोनवर्षाका मुन्ना तिवारीले बताए। उनले प्राकृतिक सम्पदा संरक्षणको जिम्मेवारी लिएको डिभिजन वन कार्यालय र पर्सा राष्ट्रिय निकुञ्जले सचेतना कार्यक्रम तथा जङ्गल प्रवेश गर्नेहरूलाई आगलागी हुने वस्तुसहित प्रवेशमा रोक नलगाएको कारण आगलागीका घटना हुने गरेको बताए। अहिले राष्ट्रिय वन तथा पर्सा राष्ट्रिय निकुञ्जमा सानातिना डढेलो दैनिक लाग्ने गरेको छ। जङ्गल प्रवेश गर्नेहरूले चुरोट, बिंडी सेवन गरेर जथाभावी फाल्ने गर्दा डढेलोका घटनाहरू भइरहेका छन्। डढेलोबाट झरेर सुकेका पातहरू र साना बिरुवाका साथै सुकेका ठूला रूखहरू पनि नष्ट भइरहेका छन्।
वनजङ्गलमा भइरहेका डढेलो नियन्त्रणका लागि वन कार्यालय र निकुञ्जले पूर्वतयारी गरेको छैन। बर्सेनि फागुन र चैत महीनामा हावाहुरी चल्ने र डढेलोका घटनाहरू हुँदै आएका छन्। सखुवाप्रसौनी गापा–१ मधुवन मथवलका वडासदस्य पारस महतो थारूले वन, साझेदारी वनले प्राकृतिक सम्पदा जोगाउनका लागि डढेलोविरुद्ध पूर्वतयारी नगरेको आरोप लगाए। उनले वनजङ्गल भएको क्षेत्रमा आगलागी नियन्त्रणका लागि वारुणयन्त्रसमेत नभएको बताए।
वनजङ्गल रहेका स्थानीय तह अन्तर्गतका पालिका, वन तथा निकुञ्ज र साझेदारीले वारुणयन्त्र खरीदको लागि अहिलेसम्म प्रयास गरेका छैनन्।
यसैगरी, वनजङ्गल प्रवेश गर्नेहरूका लागि कुनै निश्चित मापदण्ड पनि बनाइएको छैन। जसले गर्दा सलाई, लाइटरजस्ता आगलागी हुने वस्तुहरू लिएर जङ्गल प्रवेश गर्नेहरूको सङ्ख्या बढेको छ। जङ्गल मास्ने काममा सक्रिय तस्कर र यही बाटो लागूऔषधको तस्करी पनि हुने हुनाले रातिपख सलाई, लाइटरसहित तस्करहरूको प्रवेश हुने र उनीहरूले बिंडी–चुरोट जथाभावी फाल्दा डढेलो लाग्ने गरेको छ। डढेलो फैलिन नदिन राष्ट्रिय वन र निकुञ्जले सीमित क्षेत्रमा फायरलाइनको व्यवस्था गरेको छ। तर जङ्गलका विभिन्न स्थानमा डढेलो लाग्ने क्रमलाई भने रोक्ने कार्य गरेका छैनन्।
डिभिजन वन कार्यालय, पर्साका निमित्त प्रमुख फरमान मियाँले बर्सेनि डढेलोको समस्या हुने गरेकोले जङ्गल क्ष्Fेत्रसँग जोडिएका बस्तीहरूलाई सचेत गर्ने गरिएको बताए। उनले जङ्गल प्रवेश गर्नेहरूलाई आगलागीका सामानहरू लिएर जङ्गलमा नजान आग्रह गरिएको तर केही व्यक्तिको गैरजिम्मेवारीपनले आगलागीका घटना भइरहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here