प्रस, परवानीपुर, २५ फागुन/
पर्सामा दलित समुदायकी एक किशोरीको उपचारमा आर्थिक समस्या देखिएको छ।
पर्सा, सखुवाप्रसौनी गाउँपालिका वडा नं ३ कौवावनकटैयाका जयलाल रामकी १६ वर्षिया छोरी शिवरति रामको उपचारमा समस्या भएको हो। विगत एक महीनादेखि उनलाई चम्की ज्वरो नामक रोगले सताएको छ। मामाघर, पोखरिया नगरपालिकाको सिसियाडी बैरियामा एक महीनाअघि बसिरहेको अवस्थामा उनलाई दैनिक ज्वरो लाग्न थालेपछि उनको उपचार शुरू गरिएको थियो। शुरूमा स्थानीय औषधिपसल तथा स्वास्थ्य संस्थाबाट उपचार गराउँदा पनि निको नभएको शिवरतिका बुबा जयलालको भनाइ छ।
त्यसपछि रक्सौलको डङ्कनमा लगेर उपचार गराउँदा पनि करीब २० दिनको बसाइमा ३ लाख २० हजार नेपाली रुपैयाँ सखाप भयो। त्यसपछि वीरगंजको एक अस्पतालमा ५ दिनमा करीब ७० हजार खर्च हुँदा पनि छोरीलाई सन्चो नहँुदा हाल ६ दिनदेखि नेशनल मेडिकल कलेजमा उपचार गराइरहेको बताए। बुबा जयलालको एक धुर पनि जग्गा जमीन छैन। उनी गाउँकै नजीकै रहेको इँटाभट्टामा काम गर्छन्। दुई छोरी र तीन छोराका बुबालाई छोरीको उपचारमा आर्थिक अभाव हँुदा दुई छाक खान पनि धौधौ भएको छ। उनको छोरीको उपचारमा गापा अध्यक्ष प्रदीप जैसवाल र सामाजिक अगुवाहरूले पनि नसघाएको आरोप लगाइएको छ।
किशोरीको उपचारमा सहयोग गर्न पोखरिया युवा समाजले पहल गरिरहेको बुबा रामले जनाएका छन्। अस्पतालका चिकित्सक डा असरफ हसैनले किशोरीको अवस्थामा सुधार हँुदै गएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here